गोरखा । विकासे आयोजनामा पारदर्शिता खोजेको भन्दै गोरखामा एक युवकलाई कुटपिट गरिएको छ ।
धार्चे गाउँपालिका–४ लाप्राकको नाङ्को लघु जलविद्युत आयोजनाको आर्थिक गतिविधि बारे प्रश्न उठाएका स्थानीय रोजन गुरुङलाई आयोजनाका पूर्व दुलाल गुरुङका छोराहरुले कुटपिट गरेको उनको आरोप छ ।
दुलालको कार्यकालमा खर्च भएको १७ लाख रुपैयाँको बारेमा चित्त बुझ्दो जवाफ नआएपछि रोजनले खर्च विवरण र अडिट रिर्पोट मागेका थिए ।
‘यत्रो रकम कहाँ गयो, अडिट रिर्पोट पनि छैन । स्पष्ट रुपमा हिसाब किताब सार्वजानिक गर्नुहोस्, सार्वजानिक सुनुवाइँ गरेर सबै जनतालाई जानकारी दिनुहोस् भनेर मैले सोधेको थिए,’ रोजनले भने , ‘त्यसपछि पूर्व अध्यक्ष दुलाल गुरुङको छोरा भनिन्द्र गुरुङले बैठक नै भाँडेर स्थगित गराइदिनु भयो ।’
बैठक सकिएपछि भनिन्द्रले ७/८ जना युवाहरुसँगको सहयोगमा रोजनलाई गाउँ भन्दा अलि पर एकान्तमा लगेर कुटपिट गरेको उनले बताए ।
टाउको र शरिरका विभिन्न भागमा चोट लागेको रोजनको गुनासो छ । पिडितले प्रहरीमा उजुरी समेत गरिसकेको बताएका छन् ।