गोरखा । पालुङटार कुन्दुरटार सिंचाई आयोजना काम सुरु भएको २१ वर्ष बित्यो । तर, कामको प्रगति भने हालसम्म २५ प्रतिशत मात्र सम्पन्न भएको छ ।
गोरखा नगरपालिका वडा नं. १०, ११ र १२ मा पर्ने करिब ५ सय हेक्टरको खेतियोग्य जमिन सिंचाई गर्ने उदेश्यका साथ २०५९ सालमा सुरु भएको कुन्दुरटार सिंचाई आयोजनाको काम २०६२ मा रोकियो । २०७६ सालदेखि गोरखामा आयोजना कार्यालय स्थापना गरेर काम सुरु भएपछि पनि गति सुस्त छ । ‘
८ किलोमिटर नहर निर्माण गर्ने कार्यालयको अनुमान छ’, कार्यालयका प्रमुख शंखर बुढाथोकीले भने, ‘तर ठेकेदारको लापारबाहीको कारण हाल सम्म २ किलोमिटर मात्र काम सम्पन्न भएको छ भने अरु कच्चि नहरको रुपमा छ ।’ कुलोको चौडाइ १ मिटरको छ, कुलोमा छोप्ने स्ल्याप आवश्यकताको आधारमा हाल्ने गरेको उनको भनाई छ ।
‘२०७८ साल ३ महिना ३ गते अन्नपूर्ण निर्माण सेवालाई २ वटा ठेक्का दिइएको थियो । तर अहिले काम सम्पन्न नगरी अलपत्र पारेर छोडेर गएको छ’, उनले भने, ‘निरन्तर सम्पर्क गर्ने कोशिस भइरहेको छ, सम्र्पकमा आएको छैन ।’
यो निर्माण सेवासँग पहिलो खण्डको ३ सय ३६ मिटर नहर निर्माणको लागि १ करोड १० लाख ६ हजार ९४२ रकम र दोस्रो खण्डका १९० मिटर नहर निर्माणको लागि १ करोड १ लाख ८३ रुपैयाँमा ठेक्का संझौता भएको थियो ।
तर हाल पहिलो खण्डको १ सय ६५ मिटर र दोस्रो खण्डको ८७ मिटर मात्र निर्माण भएको छ । ‘काम नगर्ने ठेकेदार पर्नुभयो, हामीले छान्न नमिल्दै, खुल्ला प्रतिस्पर्दा गर्नुपर्छ’ उनले भने । त्यस्तै आर्थिक वर्ष २०८० मा नयाँ ठेक्का लागेको इन्जिनियर शुसन श्रेष्ठले बताए ।
डिवी डि.डी.बि वोयस्ट जे।बि कम्पनीलाई गत बैशाख १९ गते २ करोड २३ लाख १५ हजार ६४८ रुपैयाँमा ठेक्का दिएको छ । यो ठेक्का २०८१ बैशाख १८ गते सम्पन्न गर्ने योजना छ । ‘६४७ मिटरको नहर निर्माण गर्ने योजना छ, हालसम्म ६१ प्रतिशत भन्दा बढि काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘अन्य ठेक्का तुलनामा राम्रो काम भइरहेको छ, छिट्टै सम्पन्न हुन्छ ।’