गोरखा । गोरखा नगरपालिका १४ भट्टबेंसीका दिपवहादुर आलेले यस वर्ष २२ लाखको सुन्तला बिक्री गरे । सुन्तला राम्रोसँग पाक्न नपाउँदै राम्रो भाउमा बेच्न पाउँदा उनी खुसि छन् ।
‘गत वर्ष ग्रिनिङ रोगका कारण सुन्तला सुन्तला नै फलेन,’उनले भने,‘यो वर्ष रोगले त्यति दुःख दिएन । मौसमले पनि साथ दिएकोले राम्रै उत्पादन भयो ।’ ५०० बोटबाट आम्दानी लिइरहेका उनले गत वर्ष १७ लाख रुपैयाको सुन्तला बेचेका थिए ।
प्रतिकेजी ९० रुपैयाँमा ठेक्का दिएको उनले बताए । उनको बगैंचामा यस वर्ष २४ हजार ४४४ केजी सुन्तला फलेको छ ।
शहिदलखन गाउँपालिकाको मनकामना क्षेत्रका इन्सान बहादुर थापा पनि सुन्तला बेच्ने तयारीमा छन् । उनको बगैैचामा अहिले एक हजार १ सय बोटमा सुन्तला फलेको छ । गत वर्ष २३ लाखको सुन्तला बिक्री गरेका थापा यसपाली पनि उचित मुल्यको पर्खाइमा छन् । ‘सुन्तला किन्न ठेकेदारहरु आइरहेका छन्,’ उनले भने,‘अब जसले राम्रो मुल्य दिन्छ, उसैलाई दिनु पर्ला ।’
गोरखा नगरपालिका १४ की बिमला थापा पनि अहिले सुन्तलाबारी मै भेटिन्छिन् । उनी भने यस वर्ष आफै सुन्तला बिक्री गर्न कसिएकी छिन् । ‘ठेकेदारलाई सस्तोमा दिनुपर्छ । आफैले बजार पठाउन पाए दुई/चार पैसा बढि पाइन्छ,’ उनले भनिन्,‘त्यसैले यसपटक आफैले बेच्ने थालेको छु । हेरौं के हुन्छ ।’ अहिले बगैंचाबाटै गुणस्तरका आधारमा प्रतिकेजी ३५ देखि १०५ रुपैयाँ सम्ममा सुन्तला बिक्रि भइरहेको उनले बताइन् ।
उनको बगैंचामा रहेका १ सय ३० बढि बोटमा अहिले सुन्तला फलेको छ । जसबाट गत वर्ष थोकमुल्यमा ठेकेदारलाई दिदाँ पनि झण्डै ४ लाख आम्दानी भएको थियो । यो वर्ष आफैले बेच्दा ८/९ लाख सम्म आम्दानी गर्ने उनको लक्ष्य छ । गोरखा नगरपालिका १ छापथोकका अर्जुन भट्टले सुन्तला खेति गर्न थालेको १२ वर्ष भयो ।
उनको बगैचामा रहेका १५० बोटमा अहिले सुन्तला लटरम्मै पाकेका छन् । गत वर्ष १ लाख २० हजारमा बिक्री गरेको उनी अहिले भने राम्रो मुल्यको पर्खाइमा छन् । यस वर्ष २ लाख ५० हजार सम्म आम्दानी हुने उनको अपेक्षा छ ।
‘सुन्तला लगाएर मात्र हुँदैन यसलाई स्याहार गर्न सक्नु प¥यो,’ उनले भने, ‘हामी कहाँ पर्याप्त सिंचाइ सुबिधा छैन, मौसमले साथ नदिए पनि राम्रो उत्पादन लिन सकिदैन ।’
जिल्लामा यस वर्ष सुन्तला उत्पादनको तथ्याङ्क हालसम्म उपलब्ध नभएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन एकाई गोरखाका कृषि अधिकृत रबिन्द्र पौडेलले जानकारी दिए । ‘सुन्तला पाक्दै छ । सबै तिरको बिवरण आइसकेको छैन्,’ उनले भने,‘विवरण प्राप्त भएपछि हामी सार्वजानिक गर्न सक्छौं ।’
यस वर्ष मौसम राम्रो परेको, रोग किराको प्रकोप कम भएको र सुन्तला समेत राम्रो फलेकाले उत्पादन बढ्ने सरोकारवालाहरुको अनुमान छ । सुन्तलाको उत्पादन बढेपछि आम्दानी पनि बढ्ने भन्दै किसानहरु खुसि भएका छन् । गत वर्ष ४२ मेक्ट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
शहिद लखन–२ मनकामना, वडा ५ को मास्कीछाप र तिनमाने, वडा ४ को ताक्लुङ, ५ को तिनघरे, गोरखा नगरपालिका १ को ताप्ले, वडा ४ को फिनाम, वडा ३ को नारेश्वर वडा १४ को भट्टबेंसी, गण्डकी गाउँपालिका–२ याङदी र ४ नम्बरको फुजेललाई समेटेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जात फलफूल जोन कार्यक्रम पनि लागू भएको छरु। यस बाहेक जिल्लाका विभिन्न ठाउँमा पनि सुन्तला खेति भइरहेको छ ।