पर्साको ठोरी गाउँपालिकामा नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु भएको छ। छोरीका छोरा (नाति) ३६ वर्षीय कृष्णबहादुर खड्काले कोदो चुट्ने लाठी ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामामाथि प्रहार गर्दा उनको मृत्यु भएको हो।
छिमेकीको घरमा नाति कृष्णबहादुरले कोदो चुटिरहेका बेला हजुरबुबा लक्ष्मण पनि त्यहाँ पुगेका थिए। नातिलाई ‘तिमी छाडिदेऊ म चुट्छु’ भन्दा आवेगमा आएका कृष्णबहादुरले हजुरबुबा लक्ष्मणमाथि लाठी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।
लाठी प्रहारबाट लक्ष्मण बेहोस भएर ढढेका थिए। टाउकामा गम्भीर चोट लागेर अचेत भएपछि उनलाई उपचारका लागि ठोरी गापा–२ स्थित स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ। कृष्णबहादुरलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए। लक्ष्मणको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज ल्याइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।