काठमाडौं । १६ दिनदेखि भारतको उत्तरकाशीमा एक निर्माणाधिन सुरुंग भत्किदा फसेका ४१ जना मजदुरको अझै उद्दार हुन सकेको छैन ।
उपलब्ध सबै साधन श्रोत प्रयोग गरी भारतीय सेनाले उद्दारका लागि निरन्तर प्रयास गरिरहेको छ । तर, सबै प्रयास अहिलेसम्म विफल भैरहेका छन् । हालसम्म सबै मजदुरहरु सकुसल रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उद्दारका लागि इन्जिनियरहरूले करिब तीन फिट चौडाइ भएको स्टिलको पाइप चट्टान र कङ्क्रिटको भग्नावशेष बाट तेर्सोरूपमा लैजाँदा सुरुङभित्र पुरिएका धातुका बिम तथा अन्य निर्माण सवारिहरुसंग ठोक्किदा उद्धारकार्य अबरुद्ध भएको छ । अब अबरुद्ध पार्ने धातु हटाउनका लागि प्लाज्मा कटिङ मेसिनको प्रयोग गरिने भएको छ ।
पाइपभित्रको सिमित क्षेत्रबाट धातुका बिम तोड्न परम्परागत अक्सिएसिटिलिन कटरको प्रयोग गर्न कठिन भएको जनाइएको छ ।
दुर्गम पहाडी भुगोल रहेको उक्त उद्दार कार्यमा यसअघि मजदुरसम्म पुग्नुभन्दा मात्र नौ मिटरअघि एउटा ठूलो बोरिङ मेसिन भाँच्चिएको थियो ।
मजदुरहरुलाई बाहिर निकाल्नका लागि ८९ मिटर तल ठाडो ड्रिलिङको काम भइरहेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले शनिबार बताएका थिए । उद्धारकै लागि ४ सय ८० मिटर टाढा बाट पनि अर्को प्रयास भैरहेको छ । भग्नावशेष खस्ने र ड्रिलिङ मेसिन बारम्बार बिग्रिँदा उद्धार प्रयास ढिलो र जटिल बन्दै गएको छ ।
नोभेम्बर १२ मा सुरुङभित्र फसेका कामदारहरूलाई खाना, पानी, अक्सिजन र औषधि साँघुरो पाइपबाट पठाइदै आइएको छ । सोहि पाइपमार्फत फसेका मजदुरहरुसंग उद्धारकर्मीहरूले रेडियोमार्फत कुराकानी गर्नुका साथै मङ्गलबार एन्डोस्कोपिक क्यामेरा पठाइ उनिहरुलाई देखिएको थियो । क्यामेरामा पनिहरु हतास देखिएका थिए ।
यसैबीच मौसम विभागले सो भेगमा हिमपातको चेतावनी जारी गरेको छ । यसले उद्धारमा थप समस्या निम्त्याउन सक्ने बताइएको छ ।
भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माण भैरकेको सिल्कयारा सुरुङ मार्ग भत्किदा ४१ मजदुर फसेका छन् ।