काठमाडाैँ । भूकम्पका कारण बस्ने घर भत्किएपछि जाजरकोटमा चिसोले एकपछि अर्काे भूकम्पपीडितले ज्यान गुमाइरहेका छन्।
कठ्यांग्रिँदो चिसोमा खुला चौरमा त्रिपालको भरमा रात बिताइरहेका भूकम्पपीडितमा स्वास्थ्य समस्याले पनि सताइरहेको छ।
चिसोकै कारण जाजरकोटमा अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ।
गत कात्तिक १७ गते राति ११:४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुम-पश्चिममा गरी १५४ जनाको मृत्यु भयो भने हजाराैँ घाइते भए।
भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बस्न बाध्य भूकम्पीडितमा बालबालिका, सुत्केरी महिला, अशक्त तथा वृद्धवृद्धा बढी चिसोको मारमा परेका छन्। मृत्यु हुनेमा अधिकांश दीर्घरोगी छन्।