• शनिबार, साउन ९ २०८३

आगलागी हुँदा बर्दियामा ३ बालबालिकासहित चार जनाको मृत्यु


शनिबार, मंसिर ९ २०८०
1.3K
Shares

बर्दियाको गुलरियास्थित एक घरमा गएराति आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ। घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया- ४ तुलापुरमा रहेको भरत चन्दको घरमा शुक्रबार राति १० बजे आगलागी भएको हो।

जिप्रका बर्दियाका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार मृत्यु हुनेमा भरत चन्दका ७ वर्षका छोरा कृष चन्द, २ वर्षका छोरा कार्तिक चन्द, भरतकी दिदी ३६ वर्षकी राधा बुढा र उनकी ११ वर्षकी छोरी मानुषी बुढा छन्।

राधा छोरीलाई लिएर भाइको घरमा पाहुना लाग्न जाँदा घटना भएको प्रहरीले जनाएको छ।

आगलागीमा परेर भरतकी पत्नी २८ वर्षकी करिष्मा चन्द गम्भीर घाइते भएकी छन्। उनको गुलरिया असप्तामाल उपचार भइरहेको एसपी शाहीले जानकारी दिए।

सपी शाहीका अनुसार घटना हुँदा घरमुली भरत भने घरमा थिएनन्। उनी रोजगारीको लागि बाँकेको कोहलपुरमा बस्ने गरेका आफन्तले बताएका छन्।

आगलागीमा परेका सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक चारै जनाको शव अहिले पनि घटनास्थलमै रहेको एसपी शाहीले जानकारी दिए।

राति सुतेको बेला घरमा आगो सल्किएको हो। विजुली सर्ट भएर आगो सल्किएको हो कि बालिएको आगोबाट आगलागी भएको हो खुलिनसकेको एसपी शाहीले बताए।

आगलागीबाट एउटा कोठा पूर्णरुपमा जले पनि घर जलेको छैन। घटनाको थप अनुसन्धान सुरु गरिएको एसपी शाहीले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार