काठमाण्डौं । सरकारले एक सय भन्दा बढी बेड संचालित अस्पतालमा चिकित्सा शिक्षा अध्यापन गराउने तयारी थालेको छ ।
बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एक सय देखि तिन सय बेड संचालित सरकारी अस्पतालमा पारामेडिक्स् र नर्सिङ्ग तथा तिन सय भन्दा बढी बेड संचालित अस्पतालमा एम.बि.बि.एस. सहितको चिकित्सा शिक्षा पठन पाठनका लागि अनुमति दिने गरि तयारी गरेको जानकारी दिए । मन्त्री बस्नेतले भने “यसकालागि हिजोदेखि नै हामीले प्रक्रिया अघि बढाएका छौँ ।”
यस बाट चिकित्सा शिक्षाका लागि बिदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनुका साथै चिकित्सा शिक्षामा नेपाललाई शैक्षिक हव बनाइ बिदेशिहरुलाई चिकित्सा शिक्षा अध्ययनका लागि आकर्षक गन्तब्य बनाउने उद्देश्य स्वास्थ्य मन्त्रालयको रहेको मन्त्री बस्नेतले बताए ।
मन्त्री बस्नेतले यसले एकातिर चिकित्सा शिक्षाको लागि देशबाट रकम बाहिरिन बन्द हुनुका साथै बिदेशिहरुलाई नेपालमा चिकित्सा शिक्षा प्रदान गरी ठुलो रकम भित्र्याउन सकिने बताए ।
नागरिकलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन जनशक्तिको दरबन्दी थप्ने तयारी भइरहेको मन्त्री बस्नेतले जानकारी दिए । केही अस्पतालका लागि अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिइसकेको उनले बताए ।
२०५४ देखि स्वास्थ्यमा दरबन्दी यथावत रहेको बताउदै मन्त्री बस्नेतले भने “हाम्रो अनवरत प्रयासपछि प्रधानमन्त्री, अर्थमन्त्री र अर्थमन्त्रालयका अन्य पदाधिकारीसँग लगातारको छलफलबाट थप जनशक्तिका लागि हामीले बजेट पाउने भएका छौँ, हामी चाँडै नयाँ विज्ञापन खोल्ने तयारीमा छौँ ।”
मन्त्री बस्नेतले आफु मन्त्रालय आएदेखि सबैको साथ र सहयोगले स्वास्थ्य क्षेत्रले फड्को मारेको र स्वास्थ्य क्षेत्रमा सुधारको काम भइरहेको जिकिर गरे ।