• शुक्रबार, साउन ८ २०८३

कोप–२८ मा सहयोगको याचना होइन, अधिकारका कुरा राख्ने होः प्रधानमन्त्री


शनिबार, मंसिर २ २०८०
2.1K
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८_ मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका छन् ।

नेपाल पर्वातरोहण संघले आज सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापथ्थरमा आयोजना गरेको शान्ति दीप हस्तान्तरण तथा झण्डोत्तलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताए ।

“हामीले गर्दै नगरेको कामको मूल्य चुकाउन सक्दैनौँ, जसले कार्बन उत्सर्जनमा कमजोरी गरेको छ, उसले हाम्रो अधिकारका रुपमा जलवायु कोषमार्फत क्षतिपूर्ति दिनुपर्छ”, प्रधानमन्त्री प्रचण्डले भने, “कोप–२८ मा नेपालले सहयोगको याचना मात्रै गर्ने होइन, हामीलाई हाम्रो अधिकार चाहियो भन्ने हो ।” उनले यसलाई मागका रुपमा नभई अधिकारकैरुपमा राख्ने तयारी गरिएको जानकारी दिए ।

यही मंसिर १४ देखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्स ९यूएई०को दुबईमा कोप–२८ सम्मेलन आयोजना हुँदै छ । प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा हुने सम्मेलनमा राष्ट्रिय अनुकूलन योजनाको विस्तृत रुप, राष्ट्रिय निर्धारित योगदानमा आधारित कार्यान्वयन योजना र कोप–२८ को एजेण्डाका बारेमा छलफल हुनेछ ।

नेपालले कोप–२८ मा उठाउने विषय र प्राथमिकताका सम्बन्धमा उच्चस्तरीय सत्रलाई यही मंसिर १६ गते प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले कोप–२८ सम्मेलनमा नेपालका तर्फबाट उठाउनुपर्ने विषयको तयारीका लागि जलवायु वित्त, अनुकूलन, पर्वतीय प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि, हानि र नोक्सानी, लैंगिक, युवा, बालबालिका, जलवायु सशक्तीकरण, जलवायु परिवर्तनका असर कम गर्न ६ बुँदामा केन्द्रित रहेर विज्ञ समूह गठन गरी सुझाव लिइएको जानकारी दिए ।

सम्मेलनमा नेपालले जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानि र नोक्सानीका लागि कोषको व्यवस्थापन, हिमाल र पर्वतीय मुद्दा, उत्सर्जन कटौती र समावेशीतालगायत मुद्दालाई प्राथमिकतामा राखेको छ ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले खुम्बु क्षेत्रको विकास तथा विस्तार, व्यवस्थित पर्यटकीय गतिविधि सञ्चालन, सगरमाथाको सुरक्षा र सफाइलाई प्रभावकारी रुपमा लैजान सरोकारवालाको सहभागितामा आवश्यक कार्यविधि बनाइने बताए ।

कालापथ्थर क्षेत्रमा दीप प्रज्वलन हस्तान्तरण र झण्डोत्तलन गर्नु आफैँमा पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले खुम्बु क्षेत्रमा गरेको भ्रमणले विश्वको ध्यानाकर्षण भएको बताए ।

–रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार