काठमाडाैं । छठ पर्वको रौनक सुरु भएको छ । नेपालीहरुकाे दाेस्राे ठूलाे चाड तिहार सकिएसँगै छठ पर्वकाे राैनक सुरु भएकाे हाे । काठमाडाैँसहित तराईका जिल्लाहरुमा छठकाे राैनक बढिरहेकाे छ ।
छठ पूजाका लागि पोखरीका डिल, खाेला र नदी सिंगारिएका छन् । सूर्य आराधनाको पर्व छठ कात्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट विधिवत् रूपमा सुरु हुन्छ। याे वर्षकाे छठकाे मुख्य दिन मंसिर ३ गते परेकाे छ । सरकारले छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिएकाे छ ।
यस दिन व्रतालुहरूले नदी, तलाउ तथा पोखरीहरूमा नुहाई धुवाई गरी चोखो भएर अरबा चामलसहित शुद्ध परिकार खाएर चार दिनसम्म मनाइने छठ पर्वको संकल्प लिने गर्छन् । स्नान गरी शुद्ध भएका व्रतालुहरूले ‘अब जथाभावी खाँदिन र तन-मनले आस्था र निष्ठाका साथ विधि विधानसहित व्रत गर्ने’ प्रणसहित संकल्प लिने गर्छ ।
छठको दोस्रो दिनलाई खरना भनिन्छ । खरनाको दिन नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सक्खरको खीर, रोटी, दूधलगायतका परिकार कुलदेवतालाई नैवेद्य दिइने गरिन्छ । यस दिन व्रतालुहरू साँझपख एक छाक मात्र नैवेद्यमा चढाइएका प्रसाद सामग्री भोजनको रूपमा ग्रहण गर्ने गर्दछन् । छठको दिन अर्थात् अघिल्लो दिनमा दिनभरि पानी समेत नपिई निराहार व्रत बस्नुको पूर्वाभ्यासको रूपमा लिइन्छ । कार्तिक शुक्ल षष्ठी अर्थात् तेस्रो दिनलाई छठको मुख्य दिन मानिन्छ । छठमा सूर्यको पूजा अर्थात अस्ताउँदो सूर्यलाई अर्घ्य दिने भएकाले व्रतालुहरू पानीसमेत नपिई निराहार बस्ने गर्छन् ।
यस दिन साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई पूजा गरेर प्रसाद सामग्रीलाई अर्घ्य दिने गरिन्छ । कात्तिक शुक्ल सप्तमी अर्थात् छठको अन्तिम दिन उदाउँदो सूर्यलाई पूजापाठसहित अर्घ्यदान पूजाआजा गरिन्छ । उदाउँदो सूर्यको न्यानो किरणसँगै व्रतालुहरूले अञ्जुलीमा पानी भरी जल चढाउँछन् । छठमा पवित्रतालाई अति महत्वपूर्ण मानिन्छ ।
मिथिलाञ्चलसहित तराई मधेशबाट सुरु भएको यो पर्व अहिले संघीय राजधानी काठमाडौँलगायत पहाड र हिमालमा समेत मनाउन थालिएको छ ।
१२ तस्विरमा हेर्नुस काठमाडाैँकाे गुह्येस्वरीमा छठ पर्वकाे तयारी ।
तस्विरहरु : राजेन्द्र काेइराला / सिभिलखबर