काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनलमा प्रबेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो ।
यो जित संगैं उपाधिका लागि घरेलु टिम भारत र अस्ट्रेलिया आमनेसामने हुने भएको छ ।
पहिलो सेमिफइनलमा भारतले न्युजिल्यान्डलाई ९ विकेटले हराएर फाइनलमा स्थान बनाइसकेको छ ।
अस्ट्रेलियाका लागि ओपनर त्रविस हेडले ६२ रन जोडे भने अर्का ओपनर डेभिड वार्नर २९ रनमा आउट भएका थिए । मिचेल मार्स शून्यमा आउट भए भने ग्लेन म्याक्सलले १ रन मात्र जोड्न सके । मार्नस लबुसेन १८ रन, जोश इंग्लिस २८ रन, पाट कमिङ्गसले नटआउट १४ रन र मिचेल स्टार्कले नटआउट १६ रन बनाए ।
कोलकतामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९.४ ओभरमा २१२ रनमा अलआउट भयो ।
दक्षिण अफ्रिकाका डेभिड मिलरले १०१ रन बनाए भने हेनरिच क्लासेनले ४७ रन बनाएर आउट भए।
गेराल्ड कोत्जीले १९, एडिन माक्रमले १०, कागिसो राबाडाले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।
अस्ट्रेलियाका लागि बलिङतर्फ मिचेल स्टार्क र पाट कमिन्सले ३–३ विकेट लिए भने जोश हजलवुड र त्रविस हेडले २–२ विकेट लिए ।