काठमाडौँ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच खेल हुँदै छ । कोलकोतास्थित इडेन गार्डेनमा हुने खेल नेपाली समय अनुसार दिउसो २ः१५ बजेदेखि शुरु हुने छ ।
लिग चरणको खेलमा दक्षिण अफ्रिका दोस्रो तथा अस्ट्रेलिया तेश्रो हुँदै सेमिफाइनलमा पुगेका हुन् । दुबै टीमले ९ खेलमध्ये ७ खेल जितेर १४ अंक हासिल गर्दै रनरेटको आधारमा दोश्रो र तेस्रो हुँदै सेमिफाइनलमा पुगेका हुन् ।
पाँच पटकको विश्व विजेता अस्ट्रेलियाले पछिल्लो पटक सन् २०१५ मा विश्वकप जितेको थियो । दक्षिण अफ्रिकालाई क्रिकेट बिश्लेषकहरुले अभागि टिमको रुपमा बिश्लेषण गर्दछन् ।
हालसम्म विश्वकपको फाइनलमा नपुगेको दक्षिण अफ्रिकाले यस अघि चारपटक विश्वकपको सेमिफाइनलमा पराजय व्यहोरेको छ । दक्षिण अफ्रिका यसअघि १९९२, १९९९, २००७ र २०१५ मा सेमिफाइनलमा पराजित भएको थियो ।
अस्ट्रेलियाले भने यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा गरि सबैभन्दा बढी पाँच पटक विश्वकप जितेको थियो ।