• शनिबार, साउन ९ २०८३

सुरु भयाे तिहार, यमपञ्चककाे पहिलाे दिन काग तिहार आज


शनिबार, कार्तिक २५ २०८०
995
Shares

काठमाडौं । आज कार्तिकृष्णपक्ष त्रयोदशी तिथि अर्थात् आजबाट सनातन धर्मावलम्बीहरुकाे दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । यमपञ्चककाे नामले चिनिने यस पर्वकाे पहिलाे दिन आज काग तिहार, सूचनाको संवाहक कागलाई पूजा गरी आजको दिन हरेक घरमा कागलाई खान दिने चलन रहेको छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो-मीठो खान दिई खुसी पार्ने गरिएको हो।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ।

आज कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ। हनुमानढोका स्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यमदीप दान कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म गर्ने शास्त्रीय विधि रहेकाे छ ।

कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवर्द्धन पूजा, नेपाल संवत् र म्हः (आत्मपूजा) एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।

कात्तिक २९ गते बुधबार भाइटीकाकाे उत्तम साइत बिहान १०:५१ बजे रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार