काठमाडौँ । यही कार्तिक १० गते मुगुको छायाँनाथ रारा नगरपालिकामा एकै परिवारका चार जनाको सामूहिक हत्या आफन्तबाटै भएको प्रहरीले जनाएकाे छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले टोलीले घटनामा सलग्न दुइजनालाइ आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।
छायानाथ रारा नगरपालिका–७ पिना गाउँ घर भई हाल बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपालबहादुर बोहरालाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
सो घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोली आइतबार मुगु गएको थियो ।
उक्त घटनामा २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहरको हत्या भएको थियो ।
हत्या गरेर फरार भएका गोर्खराजलाई सीआईबीले कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ बाट पक्राउ गरेको थियो भने गोर्खराज समातिएपछि गोपालको संलग्नता खुलेको र कात्तिक २१ गते मुगुको गमगढी वडा नं २ बाट पक्राउ गरेको थियो । हत्या आरोपित गोर्खबहादुर श्रीदेवीका काका र गोपाल भाइ नाता पर्छन् ।
हत्याका आरोपी गोपालले कतारमा वैदेशिक रोजगारीमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरालाई आफ्नो पनि भिसा लगाइदिन दुई वर्षअघि आग्रह गरेको र त्यही भिसा नलगाइ दिएको रिस परिवारमा पोखेको प्रहरीले जनाएको छ ।
उनीहरूले सुरुमा लुटपाटको मात्र योजना बनाएको र पछि हत्या गरेको जनाइएको छ । २०८० जेठमा गोर्खराज शाहीले गोपाल बोहोरालाई भेटी श्रीदेवीसँग रहेको सुन लुटपाट गर्ने योजना बनाई सोही योजनाअनुसार कात्तिक ५ गते गोर्खबहादुर सुर्खेतबाट मुगु आई गोपालको घरमा बसेको, ७ गते र ८ गते राति गोपालको पुरानो गोठमा लुकी बसेको, कात्तिक ८ गते श्रीदेवी दुई छोरा र एक छोरीसहित माइतीघरबाट फर्किएपछि बेलुकी हत्या गरेको बयानको क्रममा बताएको कर्णाली प्रहरी प्रमुख भीमप्रसाद ढकाल बताए ।
हत्यापछि उनीहरूले शव घरभित्रै छोडी मृतकले लगाएको गहना लुटी ढोकामा ताला लगाई त्याहा बाट भागेका थिए । गोर्खबहादुर भने सुर्खेत गएर लुकेर बसे भने गोपाल बोहोरा त्यसपछि पनि गाउँमै बसेका थिए ।
प्रहरीले गोर्खराज शाहीले लुकाइछिपाइ राखेको नगद रु १ लाख ७९ हजार, राहदानी र मुगुबाट फिर्ता गएको बसको टिकट फेला पारेको थियो ।