काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा हिजो भूकम्पमा परेर घाइते भएकाहरुको सरकारले निः शुल्क उपचार गर्ने बताएका छन् ।
शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै स्वास्थ्य मन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिदै आवश्यकता अनुसार थप उपचारका लागि औषधि सहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको बताए ।
मन्त्री बस्नेतले भने, ‘त्यही उपचार गर्नु पर्ने घाइतेहरुको उपचार त्यही गर्छौ । त्यहाँ उपचार संभव नहुनेलाई हेलिकोप्टरबाट भए पनि सुविधासम्पन्न अस्पताल ल्याएर उपचार गर्छौ । उपचारमा कुनै कमि हुने छैन ।’
मन्त्री बस्नेतले आफू स्वास्थ्य मन्त्रीभएदेखि नै पैसाको अभावमा कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्दैन भन्दै आइरहेकोले प्राकृतिक विपत्तिका बेला पनि सरकारले उपचारमा कुनै कमि नगर्ने दावी गरे ।
मन्त्री बस्नेतले जाजरकोट र रुकुममाको अवस्था हेरेर उपचारमा लागि थप के गर्न सकिन्छ भन्ने बिषयमा मन्त्रालयका विज्ञहरुसँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिए ।
जाजरकोट र पश्चिम रुकुममा हिजो राती आएको भूकम्पमा परेर अहिलेसम्म १२० भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने सयौं घाइते भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल आजै बिहानै जाजरकोट पुगिसकेका छन् ।