• शनिबार, साउन ९ २०८३

हप्तादिनमा पनि आएन गोरखामा कोरोना रिपोर्ट, जोखिम झन बढ्यो


शुक्रबार, जेष्ठ ३० २०७७
1.1K
Shares

Concept to represent the 2020 virus threat Coronavirus, blood in a test tube.

मोहसिन अलि मियाँ
गोरखा ।
गोरखाबाट स्वाव संकलन गरि पिसिआर परिक्षण गर्न पाेखरा र टेकु पठाइएकाको रिपोर्ट एक हप्ता वित्दा समेत नआउदा समस्या बनेको छ ।

भारत लगायत देशका बिभिन्न जिल्लाबाट आएर आ–आफ्नो स्थानीय तहका मास क्वारेन्टिनमा बसेका र जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुको पिसिआर रिपोर्ट एक हप्तासम्म पनि नआइदिदा सबै पक्षलाई टाउको दुखाईको बिषय बनेको हो ।

३ सय ४० जनाको रिपोर्ट आउन बाँकी

गोरखामा हालसम्म ११ वटै स्थानीय तहमा गरी ६ सय ६ जनाको स्वाव संकलन भएको स्वास्थ्य कार्यालय गोरखाको तथ्यांकमा उल्लेख छ । तर हालसम्म २ सय ६६ जनाको मात्रै रिपोर्ट आएको छ ।

जसमा १४ जनाको पोजेटिभ र २ सय ५२ को नेगेटिभ आएको कार्यालयले जनाएको छ । संक्रमण देखिएका सबैलाई गाेरखा अस्पतालकाे आईसाेलेसनमा राखिएकाे छ ।

कार्यालयका अनुसार शुक्रबारसम्म ३ सय ४० जनाको रिपोर्ट आउनै बाँकी छ । उनिहरुकाे स्वाव पाेखरा र काठमाण्डाैकाे टेकु पठाईएकाे हाे ।

स्थानीय तहलाई क्वारेन्टिन ब्यवस्थापनमा समस्या

‘हामीले गएको २४ गते पठाएको, आज ३० बित्यो अझै आएन’ पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कडेंलले भने ‘रिपोर्ट टाइममा नआइदिदा सबैको टाउको दुखाई बनेको छ, ब्यवस्थापनमा उस्तै समस्या ।’

मेयर कडेलका अनुसार क्वारेन्टिनमा बस्नेहरुले रिपोर्ट छिटो मगाउन स्थानीय तहलाई दवाव दिन थालेका छन् । ‘यहाँ त क्वारेन्टिनमा बसेकाहरुले आन्दोलन गर्ने अवस्था सृजना हुन लागिसक्यो, के गर्ने रिपोर्टमा हाम्रो भुमिका नहुने, उनिहरुलाई मानसिक तनाव बढेको बढ्यै छ ।’

यता शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर समेत समयमै रिपोर्ट नआउदा गाउँपालिकालाई आर्थिक भार थपिएको बताउछन ।

‘समस्या धेरै छन, उनिहरुलाई घरको पिर, घरकालाई उनिहरुको पिर’ अध्यक्ष थापाले सिभिलखबरसंग भने ‘जति दिन थपियो त्यति गाउँपालिकालाई आर्थिक भार पनि थपिएको छ, संक्रमण फैलिने डर पनि उत्तिकै हुने, समस्या भयो ।’

आँत्तिए क्वरेन्टिनमा रहेकाहरु

यता क्वारेन्टिनमा बस्नेहरु समेत आत्तिएका छन् । ‘म भारतबाट १४ गते यहाँ आइपुगेको, आज १७ दिन भइसक्यो, स्वाव लगेको नि एक हप्ता बित्यो’ गोरखा नगरपालिका ८ घर भई हाल मनकामना बहिरा आवासिय विद्यालयको क्वारेन्टिनमा रहेका बल बहादुर सुनुवारले सिभिलखबरसंग भने ‘इण्डियाबाट ३ दिनमा आइपुगे, यहाँबाट घर जान कति दिन लाग्ने हो थाहा भएन ।’

समयमै रिपोर्ट नआउदा मानसिक तनावले रातमा निन्द्रा समेत हराउने गरेको उनको दुखेसो छ । ‘आफ्नो दुख त छदैछ, परिवारले झन बढि तनाव लिएका छन’ सुनुवार भन्छन् ‘आफुसंग कोरोनाका संक्रमण नभएपनि धेरैदिन यहाँ बस्दा यतैबााट पनि सर्छ कि जस्तो लाग्न थालिसक्यो ।’

हाल सो विद्यालयमा ५१ जना बस्दै आएका छन् । पछिल्लो समय भारतबाट अत्याधिक नागरिक आउदा सबै जसो पालिकाको क्वारेन्टिन भरिभराउ छ ।

परिक्षण गर्ने क्षमता भन्दा बढी केस आयो

यता गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद बिन्दु शर्मा समेत स्रोत साधनभन्दा बढी केस परिक्षणका लागि आएकाले केहि समय ढिलाई भएको स्विकार्छन ।

‘पहिलो हामीसंग स्रोत साधन कम छ, दोस्रो सबै जिल्लाबाट केस एकदमै बढी आइरहेको अवस्था छ’ निर्देशक शर्माले सिभिलखबरसंग भने ‘हामी दिनमा २५० वटा केस हेर्न सक्छौ तर यहाँ अहिले ८/९ सय केस आइरहेका छन्, धेरै आयो भनेर छिटो छिटो गर्ने कुरा पनि होइन यो ।’

तर उनले यो समस्या केहि दिनमा हट्ने बताएका छन् । ‘हामी अहिलेसम्म एउटा ठाउँबाट परिक्षण गरिरहेका छौ, भोली शनिबारबाटै अर्को थप हुदैछ, एक हप्तामा अर्को पनि ल्याउने योजना छ’ उनले थपे ‘३ वटा मेसिन भइदियो भने पनि केहि समस्या हट्छ भन्ने विश्वास छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार