गोरखा । पिसिआर मेसिन खरिद गर्नका लागि गोरखामा प्रकृया सुरु भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा जिल्लाका स्थानीय तहहरुको प्रमुख लगायत सरोकारवालाहरुको बैठकले जिल्लामै पिसिआर मेसिन मार्फत कोरोना भाइरसको परिक्षण गर्न सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो ।
बैठकले गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको संयोजकत्वमा ३ सदस्यिय अध्ययन समिति बनाएको छ । समितिमा स्वास्थ्य कार्यालय गोरखाका प्रमुख विद्या तामाङ, जिल्ला अस्पतालका डा. कमल रोका रहेका छन् ।
कोरोना भाइरस जिल्लामै परिक्षण गर्न गोरखाका ११ वटै स्थानीय तहको संयुक्त लगानी मार्फत पिसिआर मेसिन खरिद गर्न लागिएको हो । त्यसका लागि पहिलो चरणमा समितिले जिल्लामा त्यसको सभ्भाब्यता अध्धयन गर्ने जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले सिभिलखबरलाई बताए ।
सम्भावना, मुल्य, प्राविधीक बिषय, जनशक्ति, प्रयोगशाला लगायतका बिषयमा नगरप्रमुख पन्तको संयोजकत्वको समितिले अध्ययन गरी आगामी बैठकमा प्रतिवेदन पेश गर्नेछ । सो पश्चात अर्को प्रकृया सुरु गरिने प्रमुख गुरुङले बताए ।
त्यस्तै बैठकले जिल्लामा निर्माण गर्न लागिएको १ सय ६५ बेडको आएसोलेसन कार्य सम्पादन समिति समेत गठन गरेको छ । समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ संयोजक रहने गरी समिति बनाइएको हो ।
जसको सदस्यहरुमा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा रहेका छन् ।
यस्तै गरी बैठकले गोरखा नगरपालिकाका उपप्रमुख विनाकुमारी श्रेष्ठको संयोजकत्वमा जिल्ला स्तरीय अनुगमन समिति समेत बनाएको छ ।
समितिमा जिल्लामा कृयाशिल राजनीतिक दल, जनप्रतिनिधी, नागरिक समाज संसंस्थाका प्रतिनिधी, पत्रकार लगायत सदस्य रहनेछन् । समितिले जिल्लामा निर्माण भएका क्वारेन्टिन, आइसोलेसन लगायतको गुणस्तर, ब्यवस्थापन, सेवा प्रवाह लगायतका क्षेत्रमा अनुगमन गर्नेछ ।