काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।
दशैँको मुख्य दिन विजयादशमीमा भेट्न र जान नभ्याएकाहरु आजदेखि आफन्तसँग टीका थाप्न जाने गर्छन् । टाढा रहेका आफन्त तथा मान्यजनहरू कहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दसैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउजाउ गर्नेहरूको चहलपहल जारी छ ।
नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् ।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ ।
नजिकका परिवारका सदस्य र मान्यजनहरुबाट दशमीको दिन टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तजनहरुसम्म पुग्न नपाएकाहरुले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्दछन् ।
यसैगरी आज आश्विन शुक्ल एकादशीलाई पापाङ्कुशा एकादशीका रूपमा मनाइँदैछ । आजको एकादशीका दिन व्रत बसे विगतमा जानी नजानी गरेका पापमा अंकुश लाग्ने धार्मिक विश्वास छ ।