गोरखा । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।
विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८ बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् ।
सरकारी गाडीमार्फत फूलपाती हनुमानढोका पठाइएकाे गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए ।
फूलपाती स्वरूप केराको बोट ,दारिम, धानको बाला , हलेदो, मानवृक्ष, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी डाेलीसहित हनुमानढाेका दरबार पठाइएकाे भुसालले बताए ।
फुलपातीलाई गोरखा दरबार हेरचाह अड्डा र सतिपिपिल क्लबले संयुक्त कार्यक्रम गरेर सतिपिपलबाट बिदाई गरिएकाे क्लबका अध्यक्ष प्रविन बस्नेतले बताए ।
गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्ष बढाइँका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।
करिब २ सय ५४ वर्षदेखिको परम्परालाई निरन्तरता दिँदै याे बर्ष समेत फुलपाती हनुमानढाेका पठाइएकाे हाे ।
तत्कालीन राजा पृथ्वीनारायण शाहले काडमाडौं उपत्यका विजय गरेर हनुमानढोकाबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारको फूलपाती हनुमानढोका भित्र्याउने प्रचलन सुरु भएको हो ।
गोरखा दरबारको दशैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ ।