गोरखा । खोटाङका गजेन्द्र राइ ११ औं लिगलिगे राजा बन्न सफल भएका छन् । बुधवार पालुङटारमा आयोजित लिगलिगे दौडमा ६९ जनालाई पछि पार्दै उनी ११ औ लिगलिगे राजा बन्न सफल भएका हुन् ।
उनले चेपेघाटदेखि लिगलिगकोट सम्मको १३.५ किलोमिटर दुरी ५६ मिनेट ३६ सेकेण्डमा पार गरेका थिए । उनी त्रिभुवन आर्मी क्लबमा आवद्ध छन् ।
निर्धारित दुरी ५६ मिनेट ५३ सेकेण्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबकै नरेन्द्र सिं रावत दोस्रो बनेका छन् । त्यसैगरी यसअघिका बिजेता अनिस थापा यसपटक तेस्रो बनेका छन् । निर्धारित दुरी उनले ५८ मिनेट ३५ सेकेण्डमा पार गरेका थिए । उनी भारतीय सेनामा कार्यरत छन् ।
दशैका बेला दौड जितेर लिगलिगको राजा बन्ने परम्परा कायम राख्न लिगलिग बिकास अभियानले बिगत १५ बर्षेदखि लिगलिगे दौडको आयोजना गर्दै आएको छ । कोभिडका कारण विगत तीन बर्ष हुन नसकेको दौडले यस बर्ष निरन्तरता पाएको आयोेजक लिगलिग बिकास अभियानका अध्यक्ष संजिव राना मगरले बताए ।
विजेता राईले एक लाख नगद पुरस्कारसहित श्रीपेच (पगरी), ट्रफी, मेडल र प्रमाणपत्र गरेका छन् ।
दौडमा २१ जना स्थानीय धावक सहित कुल ७० जनाको सहभागीता रहेको थियो । गोरखा र लमजुङको सिमानामा पर्ने चेपेघाटबाट सुरु भएको दौड ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोहुदै लिगलिगकोट कालिका मन्दिरमा पुगेर सम्पन्न भएको हो ।
नेपाल एकीकरण अघि बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो ।
तस्विर: साउण्ड ओयव गोरखा