काठमाडौँ । सांसद राजेन्द्र बजगाईँले गोरखाको उत्तरी क्षेत्रमा पर्ने साम्दोबाट तीन जनाको उद्धार गरेका छन् । गोरखा १ बाट निर्वाचित सांसद बजगाईँले मंगलबार एक जना बिरामी र दुई जना सहयोगीलाई उद्धार गरी हेलिकप्टरबाट काठमाडौँ ल्याइएका हुन् ।
बसन्त घिमिरे, कपिल घिमिरे र सुवोध अर्याललाई उद्धार गरिएको सांसद बजगाईँले जानकारी दिए ।
उनका अनुसार उनीहरूलाई एअर डाइनेष्टिको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
चुमनुब्री गाउँपालिका सामागाउँस्थित साम्दो निषेधित क्षेत्रमा पर्छ। साे गाउँपालिका हालसम्म सडक सञ्जालसंग जाेडिएकाे छैन ।
साे मनास्लु क्षेत्रमा मंगलबार पहिलो पटक हिउँ परेको छ। दिनभर बादल लागेर मौसम प्रतिकूल भएपछि सोमबार र मंगलबार हिउँ परेको बताइएकाे छ । हिमपात भएपछि मनास्लु क्षेत्र भ्रमणमा गएका तीनजना पर्यटकमध्ये एक जना विरामी परेका थिए ।
जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयसँग समन्वय गरी उनीहरूको उद्धार गरिएको बजगाईँको भनाइ छ । उनले यसअघि पनि त्यस क्षेत्रका बिरामी तथा असक्तहरुको उद्धार गर्दै आएका छन् । बजगाईँ नेपाली काँग्रेसबाट निर्वाचित सांसद हुन् ।