गोरखा । गोरखा नगरपालिकाले कोरोना रोकथाम कार्यक्रमका लागि हालसम्म ६२ लाख २५ हजार ६ सय ८५ रुपैया खर्च गरेको छ ।
बुधबार नगरपालिकाले पत्रकार सम्मेलन मार्फत कोरोना रोकथाम तथा संक्रमण फैलिन नदिने कार्यक्रममा हाल (मंगलबार) सम्मको खर्च सार्वजानिक गरेको हो । प्रकोप ब्यवस्थापन कोष मार्फत नगरपालिकाले सो रकम खर्च गरेको नगरप्रमुख राजनराज पन्तले बताए ।
लकडाउन सुरु भएसंगै कोरोना रोकथामका लागि भन्दै नगरपालिकाले आफ्नो बजेटबाट ८० लाख बिनियोजन गर्दै प्रकोप ब्यवस्थापन कोष स्थापना गरेको थियो । त्यसलगत्तै गण्डकी प्रदेशबाट १० लाख, नगरपालिकाकै आकस्मिक कोषबाट ७ लाख ४७ हजार, कर्मचारीको तलव राहत कट्टिबाट २ लाख १९ हजार २ सय ६४ रुपैया कोषमा जम्मा गरिएको थियो ।
त्यस्तै बिभिन्न सामाजिक संघसंस्था, गैसस तथा ब्यक्तिगत रुपमा सहयोग प्राप्त रकमलाई समेत नगरपालिकाले सोही कोषमा जम्मा गरेर खर्च गरेको गरेको थियो । हालसम्म सो कोषमा १ करोड ८ लाख ९० हजार ४ सय ८४ रुपैया जम्मा भएको नगरप्रमुख पन्तले बताए ।
त्यस्तै खर्चतर्फ भने हालसम्म ६२ लाख २५ हजार ६ सय ८५ मात्रै खर्च भएको उनको भनाई छ । खर्चमा सबैभन्दा बढी रकम राहत वितरण तर्फ रहेको बताइएको छ । नगरक्षेत्रमा बसोबास गर्ने ११ हजार भन्दा बढी नागरिकलाई लकडाउनमा राहत वितरण गर्दा करिब ४५ लाख खर्च भएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै कोरोना रोकथामका लागि पिपिई सेट, मास्क, सेनिटाइजर, थर्मल गन, भिटिएम लगायतका आवस्यक स्वास्थ्य सामाग्रीमा १४ लाख १२ हजार ७ सय २६ रुपैया खर्च भएको नगरप्रमुख पन्तले बताए ।
यसैगरी गोरखा नगरपालिका १० को मनकामना बहिरा आवासिय विद्यालय र १३ को गोरखकाली रबर उद्योग क्षेत्रमा क्वारेन्टिन निर्माणका साथै बाहिरबाट आएर त्याहा बस्ने नागरिकको ब्यवस्थापनमा समेत नगरपालिकाले खर्च गरेको जनाएको छ ।
हालसम्म कोष मार्फत सो रकम खर्च भएको र कोषमा ४६ लाख ६४ हजार ८ सय रुपैया मौज्दात रहेको समेत नगरप्रमुख पन्तले बताए ।
नगरपालिकाले लकडाउनका बेला बिभिन्न क्षेत्रबाट सहयाेग प्राप्त भएकाे खाद्य सामग्रीकाे विवरण समेत सार्वजानिक गरेकाे छ ।