मोहसिन अलि मियाँ
गोरखा । कोरोना भाइरसको रिपोर्ट सर्कुलेशनमा स्वास्थ्य कार्यालय गोरखाको चरम लापरवाही देखिएको छ । भारत लगायत देशका बिभिन्न जिल्लाबाट आएर पालिकाहरुको क्वारेन्टिनमा बसेकाहरुको पिसिआर परिक्षण पश्चात आएको रिपोर्ट सर्कुलेशनमा कार्यालयका जिम्मेवार प्रतिनिधीबाटै गलत सूचना प्रवाह हुदा जिल्लामा कोरोना भाइरसको जोखिम बढेर गएको छ ।
भिमसेन थापा गाउँपालिकाभित्रका मध्ये एक हप्ताअघि ११ जनाको स्वाव संकलन गरी परिक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएकाको रिपोर्ट दुई दिनमा दुई थरी आएपछि स्वास्थ्य कार्यालयको लापरवाही बाहिरिएको छ ।
स्वाव संकलन गरी पठाइएका मध्ये ११ जनाकै रिपोर्ट नेगेटिभ आएको जानकारी गाउँपालिकालाई दिएको स्वास्थ्य कार्यालयले सोही मध्येबाट बुधबार पुनः ४ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी गरायो ।
तर, खतरनाक बिषय त के रह्यो भने नेगेटिभ आएको जानकारी पाएपछि क्वारेन्टिनमा बसेको १४ दिन कटेका २ जनालाई गाउँपालिकाले घर पठाइसकेको थियो । सोही २ जनालाई बुधबारको स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङबाट पोजेटिभ प्रमाणित गरिदिदा जिल्लामा अन्योल र सरकारी निकायको गैरजिम्मेवारीपनको पराकाष्ठा सार्वजानिक भएको छ ।
किन पठाइयो संक्रमितलाई घर ?
गाउँपालिका अध्यक्ष इश्वर पाण्डेका अनुसार मंगलबार दिउँसो करिब ३ बजे स्वास्थ्य कार्यालयका प्रमुख विद्या तामाङले फोन मार्फत आफुलाई सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी भएको बताउछन । त्यसलगत्तै गाउँपालिका अध्यक्ष पाण्डेले कर्मचारीलाई सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै क्वारेन्टिनमा बसेर १४ कटेकालाई घर पठाउन निर्देशन दिए । सो लगत्तै गाउँपालिकाले १४ दिन कटेका मध्ये एक चितवनबाट आएकी महिला र भारतबाट आएका एक युवकलाई घर पठायो ।
तर घर गएको २४ घण्टापनि नबित्दै परिस्थिती पुन उल्टियो । मंगलबार नेगेटिभ आएका ११ जना मध्येबाटै ४ जनाको कोरोना रिपोर्ट बुधबार पोजेटिभ आएको छ । ‘यो सरासर स्वास्थ्य कार्यालयको लापरवाही हो, रिपोर्ट नआएकाको पनि नेगेटिभ आयो भन्ने अधिकार उहाँहरुलाई कसले दियो ।’ अध्यक्ष पाण्डेले सिभिलखबरसंगको कुराकानीमा प्रश्न गरे ।
यता स्वास्थ्य कार्यालयका प्रमुख तामाङ भने सो कुरालाई अस्विकार गर्छिन । ‘मैले कसैलाई कुनै जानकारी गराएको छैन, रिपोर्ट आएको त हो तर ११ जना पनि भनेका छैनौ, ७ जना पनि भनेका छैनौ ।’ तामाङले सिभिलखबरसंग भनिन ‘गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनाल याही आएर रिपोर्ट लैजानु भएको हो, हामीले कसैलाई फोन गरेनौ ।’
जिल्ला प्रशासन कार्यालय पनि मंगलबारको रिपोर्टबारे बेखबर छ । मंगलबार भिमसेन थापा गाउँपालिकाको रिपोर्ट आएको बारे आफुलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल बताउछन ।
‘सधै स्वास्थ्य कार्यालयबाट रिपार्ट आउथ्यो, हिजो (मंगलबार) आएन, भिमसेनको रिपोर्ट आएको नआएको हाम्रो रेकर्डमा छैन’ प्रजिअ पौडेलले भने ‘यसमा सबैको कमजोरी देखिन्छ, त्यसमा पनि गाउँपालिकाका स्वास्थ्य प्रमुखको सबैभन्दा ठूलो लापरवाही देखिन्छ ।’
बिहिबार कार्यालयमा बोलाएर सबैलाई स्पष्टिकरण सोध्ने तयारी रहेको समेत पौडेलले बताए ।
यता स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण बाबु अर्यालले भने यस बिषयमा गैर जिम्मेवार जवाफ दिएका छन् । उनले रिपोर्ट आफ्नै मोबाइलमा आएको तर के कति संंख्यामा आयो त्यस बिषयमा आफुलाई जानकारी नभएको बताउछन । उनले यस बिषयमा गाउँपालिकालाई सोध्न समेत आग्रह गरे ।
‘म फिल्डमा थिए, दिउसो टेकुबाट मेरै मोबाइलमा रिपोर्ट आएको हो, मैले नखोली पासवर्ड कार्यालयमा पठाइदिए, के कति मलाई जानकारी भएन’ उनले सिभिलखबरलाई भने ‘तर कार्यालयबाट कस्ले कस्लाई के जानकारी गरायाे मलाई थाह छैन, यो बिषयमा गाउँपालिकालाई नै सोध्नुस ।’
उनले हामीसंगको टेलिफोन कुराकानीमा भनेका छन ‘म हिजो एक जना साथीको वर्थ डे मनाउन मनकामना मै बसे, आज (बुधबार) बल्ल फर्केको हुँ ।’
हाल काेराेना देखिएका ४ मध्ये घर गएका २ जनालाई पुन क्वारेन्टिनमा फर्काइएकाे बताइएकाे छ । उनिहरुलाई बिहिबार गोरखा अस्पतालकाे आइसाेलेसनमा ल्याउने तयारी रहेकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।