गोरखा । आज (बुधबार) कोरोना पुष्टि भएका भिमसेन थापा गाउँपालिकाका ४ जना कोरोना संक्रमितलाई आज बसिरहेकै क्वारेन्टिनमा राखिने भएको छ ।
केहि प्राविधिक बिषयहरु बाँकी रहेकाले भोली बिहान मात्रै सदरमुकाम स्थित जिल्ला असपतालमा रहेको आइसोलेसनमा ल्याइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले सिभिलखबरलाई बताए ।
उनिहरुको अवस्था सामान्य रहेको साथै कोरोनाको कुनै पनि लक्षण समेत नदेखिएको खनालले बताए ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पिसिआर परिक्षण गरिएका मध्ये बुधबार गोरखाको भिमसेन थापा गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको थियो ।
जसमा १ महिला र ३ पुरुष रहेको बताइएको छ । उनिहरुमध्ये एक जना वडा नम्बर १ का, १ जना वडा नम्बर ५ र २ जना वडा नम्बर ६ का रहेको स्वास्थ्य प्रमुख खनालले जानकारी दिए ।
चितवनबाट आई क्वारेन्टिनमा रहेकी महिलालाई गाउँपालिकाले आज घर पठाउने तयारी गर्दा गर्दै संक्रमण भएको रिपोर्ट सार्वजानिक भएको थियो । उनि २१ दिनदेखि क्वारेन्टिनमा बसेकी थिइन ।