गोरखा । जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकताको प्रमाणपत्र दिन सुरु गरेको छ । मंगलबारबाट कार्यालयले आमाकाे नामबाट समेत नागरिकताकाे प्रमाणपत्र वितरण थालेकाे हाे ।
आमाकाे नामबाट गोरखामा पहिलाे पटक भिमसेन थापा गाउँपालिका वडा नं १ का मन्जित बानियाँले नागरिकता प्राप्त गरेका हुन् । घ्याम्पेशालमा रहेको दुल्लभ माद्यमीक विद्यालयबाट भक्खरै मात्र कक्षा १२ पास गरेका बानियाँले जिल्ला प्रशासन कार्यालय गोरखाबाट मंगलबार आमा मन्जु बानिँयाको नामबाट नागरिकता लिएकाे प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।
आमाको नामबाट नागरीकता पाइने भएपनि विधेयकले विभिन्न सर्तहरु तोकेको छ । नागरिकता लिनका लागि जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, आमाको नागरिकता, बुबा नभएको भनी सम्बन्धित स्थानीयबाट गरिएको मुचुल्का र अनुसूची फारम भर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै पतिको पहिचान नभएको भनी आमाले लिखित रुपमा स्वघोषणा समेत गरेको हुनुपर्ने बताइएको छ ।