• शनिबार, साउन ९ २०८३

स्वास्थ्य क्षेत्रमा गोरखा नगरपालिका र गोरखा अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट


मंगलबार, असोज १६ २०८०
2.1K
Shares

गोरखा । स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशभित्रका स्थानीय तहहरुमध्ये गोरखा नगरपालिका उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०७९/८० को प्रदेश स्तरीय वार्षिक समीक्षामा तय गरिएको विभिन्न सूचकहरुको आधारमा गोरखा नगरपालिका पहिलो स्थान हासिल गर्दै उत्कृष्ट बन्न सफल भएको हो ।

प्रदेश भित्रका ८५ वटा स्थानीय तहमध्ये गोरखा नगरपालिका स्वास्थ्य कार्य प्रगति सूचकमा ७७.७ अंक प्राप्त गरी प्रथम भएको हो । खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, महामारी रोग नियन्त्रण लगायतका सूचकका आधारमा प्रदेशभित्रका स्थानीय तहहरुमध्ये गोरखा नगरपालिका धेरै अंक प्राप्त गर्न सफल भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

त्यस्तै गण्डकी प्रदेश अन्तरगतका अस्पतालमध्ये गोरखा अस्पताल उत्कृष्ट बनेको छ । आव २०७९/८० को प्रदेश स्तरीय वार्षिक समीक्षामा तय गरिएको विभिन्न सूचकहरुको आधारमा पहिलो स्थान हासिल गर्दै गोरखा अस्पताल उत्कृष्ट बनेको हो ।

गोरखा अस्पतालले कुल ६४ अंक प्राप्त गरेको थियो । प्रदेशभरकै उत्कृष्ट बन्न सफल गोरखा नगरपालिका र गोरखा अस्पताललाई सम्मान समेत गरिएको छ ।

सोमवार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय वार्षिक समिक्षा कार्यक्रमको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । ट्रफी र कदर पत्र दिएर उनीहरुलाई सम्मान गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना र गोरखा अस्पतालका निमित्त सुपिरिटेण्डेन्ट हरिकुमार श्रेष्ठलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंखडा, मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्मा, स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिम बहादुर खड्काले सयुक्त रुपमा ट्रफि र कदर पत्र प्रदान गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार