गोरखा । ११ औँ संस्करणको लिगलिगे दौड आगामी कात्तिक १ गते हुने भएको छ । लिगलिगे विकास अभियानले सदरमुकाममा पत्रकार सम्मेलन गर्दै ‘स्थानीय सहभागीता, पर्यटकीय बिकास’ भन्ने मूल नाराका साथ प्रतियोगिता हुने लागेको जानकारी दिएको छ ।
दौडेर राजा हुने इतिहास भएको लिगलिग क्षेत्रको इतिहास, सांस्कृतिक, प्राकृतिक कुराको उगाजर गरि साहसिक खेलकुदलाई प्रवद्र्धन र पवर्तीय पर्यटनको विकास गर्ने उदेश्य लिइएको अध्यक्ष सञ्जिव राना मगरले जानकारी दिए ।
२०६७ सालबाट सुरु भएको दौड प्रतियोगिता विगत २०७७,०७८ र ०७९ मा कोरोना महामारी तथा अन्य कारणले हुन नसकेको उनले बताए ।
यस पटक भने विगतमा जस्तै गरी प्रतियोगिता सञ्चालन हुनेछ । ओपन म्यान इलिट, लोकल ओपन म्यान इलिट र स्कुल रन गरेर तीन वटा प्रतियोगिता हुने छ ।
जसअन्र्तगत ओपन म्यान इलिट अर्थात खुल्ला र ओपन म्यान लोकल इलिट अर्थात स्थानीयका लागि १३।८ कि।मि हुने भएको छ । चेपेघाटबाट सुरु हुने दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बड्डाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म टुङ्गिने राना मगरले पत्रकार सम्मेलनमा जानकारी दिए ।
स्थानीय दौडमा साबिक आँपपिपल, पालुङटार, खोप्लाङ, छोप्राक र हर्मी गाविसको स्थायी बसोबास भएका पुरुष मात्र सहभागी हुन पाउने छन् । तर, यसमा भने नेपाल सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीमा कार्यरतले सहभागी हुन नपाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता खुल्ला तर्र्फ प्रथम हुने खेलाडीलाई नगद एक लाख रुपैया, दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार, चौथो हुनेलाई १४ हजार र पाँचौ हुने विजेतालाई १० हजार प्राप्त गर्ने भएको छ । यस्तै स्थानीय तर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुनेले १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
खुल्ला तर्फ विजेता हुनेलाई २०८० को सद्भावना ‘लिगलिगे वाङ’ समेत घोषणा गरिने आयोजकले जनाएको छ । यस्तै स्कूल रन अन्र्तगत विद्यालय स्तरका १८ वर्ष मुनिका छात्र विद्यार्थीहरुका लागि प्रतियोगिता समेत हुने भएको छ ।
पालुङटार नगरपालिका–३ को मैवलबाट कालिका मन्दिरसम्मको तीन किलोमिटर सम्म हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेले रु १५ हजार द्धितियले १० हजार, तृतियले ७ हजार चौथो हुने ५ हजार र पाँचौ हुनेले ३ हजार पाउने भएको छ ।
२०० जना सहभागी हुने अनुमान प्रतियोगितामा शनिबार सम्म ३५ जनाले अनलाइन फर्म भरिसकेको मगरले बताए । दौडसँगै स्थानीय कलासंस्कृति सहितको सांस्कृतिक कार्यक्रम समेत हुनेछ । कुल १५ लाख १५ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकारले सहयोग गर्ने जनाएको छ ।
यस्तै सो प्रतियोगितालाई पनि राष्ट्रिय खेलकुद परिषद्ले पनि मन्यता दिइएको बताइएको छ । दौड कात्र्तिक १ गते बुधबार दिन बिहान ७ः३० बजेबाट सुरु हुने जनाएको छ । यो वर्ष दर्ता भने निःशुल्क गरिएको छ । तर, खाना र बस्नको लागि भने खेलाडी आफैले गर्नुपर्ने भएको छ ।