काठमाडौं । सिनामंगलस्थित केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट भएको छ ।
अस्पताल भित्रै डाक्टर कुटिएपछि त्यहाँ कार्यरत सबै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् ।
आज आइतबार दिउँसो ओपिडीमा आएका एक बिरामीका आफन्तले डा. मनिष खड्कामाथि कुटपिट गरेपछि चिकित्सकहरू अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । उनीहरू अहिले अस्पताल परिसरमै नाराबाजी गरिरहेका छन् ।
बिरामी लिएर ओपिडिमा आएका एक व्यक्तिलाई ओपिडी अगाडि भीड भएको र लाइनमा बस्न डा.मनिष खड्काले भनेकै आधारमा ति व्यक्तिले डा. खड्कामाथि कुटपिट गरेको एक डाक्टरले बताए ।
केएमसीमा डाक्टरमाथि कुटपिट भएको जानकारी पाएपछि नजिकका अस्पतालका डाक्टरहरू त्यहाँ पुगेर आन्दोलनमा उत्रिएका छन् ।
चिकित्सकहरू आन्दोलनमा उपत्रिएपछि ठूलो संख्यामा सुरक्षाकर्मि परिचालन गरिएको छ । चक्रपथ बन्द गर्न जान लागेपछि प्रहरीले उनीहरूलाई सडकमा निस्कन दिएका छैनन् ।
कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ।
पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
पछिल्लो समय देशभरका बिभिन्न अस्पतालमा डाक्टर कुटिएका घटना सार्बजनिक भएका थिए । त्यसको विरोधमा डाक्टरहरू आन्दोलनमा उत्रिएपछि सरकारले चिकित्सकसँग सुरक्षाका लागि सहमति गरेका थिए ।