काठमाडौँ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन नेकपा एमालेको माग बमोजिम हुने सहमित भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको छलफलमा आयोगको कार्यदेश र गठनबारे सहमति जुटेको थियो ।
नेकपा एमालेको माग बमोजिम आयोगमा उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गर्नेबारे आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति भएको हो ।
आयाेग गठन र कार्यदेशमा सहमति जुटेसँगै नेकपा एमालेले सदन अवरोध नगर्ने भएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक अघि सरकारले आयोग गठनको घोषणा गर्ने भएपछि एमालेले सदन अवरोध गर्न जरुरी नहुने जनाए ।
प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले सचेतक महेश बर्तौला लगायतको सहभागितामा बसेको बैठकले आयोग गठनमा सहमति गरेको हो । आयोगको कार्यादेश तीन महिनाको हुने बताइएको छ ।