• शनिबार, साउन ९ २०८३

गोरखा अस्पताललाई स्थानीयको प्रश्नः अस्पतालको जग्गा हराएकै हो ?


बिहिबार, असोज ११ २०८०
2.9K
Shares

गोरखा । गोरखा अस्पतालको लालपुर्जामा भए अनुसारको जग्गा एकिन गर्न सरोकारवालाहरुले अस्पताल व्यवस्थापन समितिलाई सुझाव दिएका छन् ।

बुधबार भएको गोरखा अस्पतालको सेवा बिस्तारका गर्न जग्गा प्राप्तीका लागि अन्तरसंवाद कार्यक्रम बोल्ने अधिकाशंले उक्त कुरामा जोड दिएका हुन् । ‘पहिले १९/२० रोपनी जग्गा थियो भन्ने हामीले सुनेको हो, अहिले १३ रोपनी देखि छैन भन्ने सुनिन्छ,’ जेष्ठ नागरिक संघका अध्यक्ष मोहनलाल श्रेष्ठले भने,‘यदी अस्पतालको जग्गा हराएको छ भने त्यसलाई खोज्नु पर्छ यसमा खुट्टा नकमाऔं ।’

काठमाण्डौं लगायतका देशका विभिन्न ठाउँमा जस्तै गरी सरकारी जग्गा खोजी गर्न गोरखा नगरपालिका लाग्नु पर्ने उनको सुझाव छ । अग्रजहरुले सुझबुझका साथ आवश्यक जग्गा अधिग्रहण गरी अस्पताल निर्माण गरेपनि पछि जग्गा हराउँदै गएको प्रति पूर्व अध्यक्ष धिज्रबहादुर मास्केले दुखः व्यक्त गरे ।

‘यो गोरखा सदरमुकाम आउने मोटर बाटो निर्माणका लागि आवश्यक ढुंगा लैजान अस्थायी रुपमा दिएको बाटो पछि स्थायी मोटरबाटो बन्यो,’ उनले भने,‘जग्गाको सिमानामा सल्लाका बोटहरु लगाइएका थिए ती पनि हराए ।’ अहिले चारै तिर बनाएको सडक अस्पतालकै जमिनमा परेका अहिले जग्गा अभाव भएको स्रोतको दाबी छ ।

अस्पताललाई ५० शैयामा स्तरोन्ती गर्नु पूर्व स्थानीय राजनीतिक दल र सरोकारवालाहरुले वीच जग्गा उपलब्ध गराउने लिखित प्रतिवद्धता भएको पूर्व अध्यक्ष बाबुराम थापाले बताए । ‘३५ रोपनी जग्गा नभएसम्म स्वास्थ्य मन्त्रालयले ५० बेडको स्वीकृती नदिने रहेछ । हामी जग्गा खोज्छांै भनेर लिखित प्रतिवद्धता गरेपछि मात्र हामीले ५० बेडको स्वीकृती पाएका हौं,’ उनले भने,‘त्यसपछिको समितिले यसबारेमा छलफल गरेन । ढिलै भएपनि अहिल छलफल सुरु भएको छ, खुसी लाग्यो ।’

कार्यक्रममा सहभागी, वडाध्यक्षहरु पूर्व अध्यक्ष तथा पदाधिकारीहरु, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, पत्रकार एवं सरोकारवालाहरुले अस्पतालको सेवा बिस्तारका लागि पहल हुन राम्रो भएको भन्दै जग्गा खोज्नका लागि आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनीहरु मध्ये अधिकाशंले अस्पतालको लालपुर्जाबाट हराएको जग्गा एकिन गर्नु पर्ने बताएका थिए । उनीहरुले अस्पताल नजिकैबाट गएको गोरखा आरुघाट सडकको बिकल्पको बारेमा पनि आवश्यक छलफल हुनु पर्ने जोड समेत दिएका छन् । त्यसपछि आवश्यक परे आसपास अन्य जग्गा खोज्न सकिने उनीहरुको सुझाव छ ।

अस्पताल देखि दक्षिण पश्चिम र उत्तर तर्पmको जग्गा अधिग्रहण गर्न सकिने उनीहरुको भनाई छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापाले सरोकारवालाहरु सबैको सहयोगमा मात्र गोरखा अस्पताल राम्रो गर्न सक्ने बताए ।

जिल्ला सदरमुकाममा सञ्चालित ५० शैयाको यस अस्पताललाई थप सेवा र सुबिधायुक्त बनाउन थप संरचना आवश्यक पर्ने भएकाले जग्गा प्राप्ती सम्बन्धी छलफल चलाइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले बताए । ‘पहिले १५ शैयामा रहेको अस्पताल अहिले ५० शैयामा सञ्चालित छ ।

पछि यसले पनि नपुगेका हामीले सय/डेढ सय बनाउनु पर्ने हुन सक्छ,’ उनले भने,‘त्यसको लागि भवन संरचना बनाउन त पर्याप्त जग्गा चाहिन्छ । त्यसको जोहो अहिले देखि नै गर्नु पर्छ भनेर हामीले कार्यसमितिको बैठकबाट जग्गा प्राप्तीका लागि आवश्यक छलफल सुरु गर्ने निर्णय गरेका हौं ।’

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन हरिकुमार श्रेष्ठले जग्गा प्राप्तीको आवश्यकताका बारेमा जानकारी गराएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार