पोखरा । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पोखरा उपत्यकामा लागू गरेको ट्याक्सीमा मिटर प्रणालीलाई प्रभावकारी बनाउन नयाँ रणनीति अपनाउने भएको छ ।
मन्त्रालयले भदौ १ गतेदखि पोखरा उपत्यकामा लागू गरिएको अनिवार्य मिटर प्रणालीबाट सर्वसाधारण यात्रुलाई राहत मिलेकाले यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ रणनीति अपनाउने निर्णय गरेको हो ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीको अध्यक्षतामा सुरक्षा अधिकारी, मन्त्रालयका अधिकारी र यातायात कार्यालयका प्रमुखको मंगलबार पोखरामा बसेको बैठकले मिटर प्रणाली कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमनलाई तीव्रता दिने र जरिवाना दर बढाउने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवत्ता तथा यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले हालसम्म मिटरमा चल्न नमान्ने ट्याक्सीलाई २ हजार १ सयका दरले जरिवाना तिराउने गरिएकोमा अबदेखि जरिवाना न्यूनतम ५ हजार पु¥याउने निर्णय भएको जानकारी दिए ।
बैठकमा राजमार्ग सुरक्षा तथा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन तिमिल्सिना, यातायात व्यवस्था कार्यालय कास्की (सवारी)का प्रमुख डिल्लीराम रिजाल, ट्राफिक प्रहरी निरीक्षक भानु शर्मा, वरिष्ठ प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठक र मन्त्रालयका अधिकारीहरुको सहभागिता थियो ।
मिटरमा चल्न नमाल्ने १ सय १७ ट्याक्सीलाई हालसम्म कारबाही गरिएको र केही ट्याक्सी कारबाहीको प्रक्रियामा रहेका ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । मिटरमा नगुड्ने ट्याक्सीलाई सवारी ऐनअन्तर्गत कारबाही गर्ने रणनीति लिइएको मन्त्रालयले जनाएको छ ।