काठमाडौँ- नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको बताएका छन् । मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् ।
कार्यकारी निर्देशक थानीले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताए । उनले कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणका लागि आईपीओ जारी गर्न प्रतिबद्ध रहेको जिकिर गरे ।
थानीले सर्वसाधारण जनतालाई समेत निगममा ओनरसीप बनाउन आईपीओ जारी गर्ने जानकारी दिए । उनले व्यवसायीहरूलाई स्टेकहोल्डर बनाउने र सर्वसाधारणलाई आईपीओ दिने तयारी भइरहेको पनि उल्लेख गरे । विभिन्न प्राविधिक पक्षहरू रहेकाले केही समय लाग्ने उनले बताए । उनले ग्यास व्यवसायीहरूप्रति आयल निगम निर्मम हुने सोचमा नभएको पनि स्पष्ट पारे ।