काठमाडौं । रुकुम पश्चिमको सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ। सांसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिको सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्खे, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् ।
सोमबार पुर्णता पाएको समितिले ३० दिनभित्र काम सम्पन्न गरिसक्नु पर्नेछ ।
गत जेठ १० गते रुकुम पश्चिमको सोतीमा मल्ल थरकी युवती लिन जाजरकोटका नवराज विक साथी सहित गएका थिए । सो घटनामा नवराज सहित ६ जनाको ‘हत्या’ भएको थियो । गाउँलेले कुटपिट गरी भेरी नदीमा फालेको पीडित पक्षको दाबी छ । नवराजसँगै गएका १२ युवाले भने नदीमा हाम फालेर ज्यान जोगाएका थिए ।
अन्तरजातीय विवाहको विषयलाई लिएर नरसंहार भएको भन्दै संसदमा प्रतिपक्षि दल कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । अन्ततः गत जेठ २३ गते सभामुख अग्निप्रसाद सापकोटाले समिति गठनको घोषणा गरेका थिए ।