काठमाण्डौं । संयुक्त दलित संघर्ष समिति, कागेश्वरी मनोहरा नगरपालिकाले रुकुम पश्चिममा भएको सोती नरसंहारको सम्बन्धमा बिरोध प्रदर्शन सहित गृहमन्त्रालयलाई ४ बुदे ज्ञापन पत्र बुझाएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख मार्फत गृह मन्त्रालयमा पठाइएको ज्ञापन पत्रमा रुकुम पश्चिम सोतीमा भएको सामुहिक हत्याकाण्डको सत्यतथ्य छानबिन गरी दोषीहरुलाई हदैसम्मको कानूनी कारबाहीको माग गरिएको छ ।
सत्यतथ्य छानविन गर्न दलित समुदायका प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सर्वदलिय संसदीय छानबिन समिति गठन गर्न समेत समितिले माग गरेको छ ।
संघर्ष समितिले घटनामा घाइते भएकाहरुको स्वास्थ्य उपचार तथा घटनामा बाँच्न सफल १२ जना युवाहरु, घटनाका साँक्षीहरु, न्यायप्राप्तीको अभियानमा लागेका स्थानीय अभियान्ताहरु र मृतकका परिवारको आवश्यक सुरक्षाको व्यवस्था गर्न तथा घटनाका सम्पूर्ण पीडित परिवारको लागि न्यायपूर्ण क्षतिपूर्तिको व्यवस्था गर्न माग गरको छ ।
छुवाछूत मुक्त राष्ट्र घोषणा भएको १५ वर्ष भैसक्दा भएको यस घटना र घटनामा स्थानिय निकाय समेतको संलग्नता देखिदा पनि सरकारले गम्भीरता पुर्वक नलीएकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
लकडाउनको अवधिमा मात्र ३२ वटा घट्नाहरु घटेका र ती घटनाका सम्बन्धमा राज्यका तर्फबाट चित्तबुझ्दो न्याय प्राप्त नभएको भन्दै यस किसिमका निकृष्ट जघन्य अपराधीक घटनाहरु नदोहोरिने सुनिश्चितता गर्न समितिले माग गरेको छ ।