• शुक्रबार, साउन ८ २०८३

अध्ययनको नाममा वैदेशिक रोजगारीमा पठाउने कन्सल्टेन्सीको धन्दामा लगाम लगाउदै सरकार

सरकारसँग कन्सल्टेन्सीहरूले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको तथ्याङ्क नै छैन


शुक्रबार, असोज ५ २०८०
1.9K
Shares

काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) हरूलाई अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिबन्ध लगाउने बताएका छन् ।

बिहीवार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री भण्डारीले यस्तो बताएका हुन् । पछिल्लो समय वैदेशिक रोजगारीका लागि व्यक्तिगत र भिजिट भिषाको नाममा जानेहरूमा बढी विकृति देखिएको उनले बताए। यी काम म्यानपावरहरू भन्दा पनि कन्सल्टेन्सीहरूमार्फत अध्ययन र कलेजको नाममा भइरहेको पाइएको उनको भनाई छ । वैदेशिक रोजगार व्यवसायी सङ्घमार्फत वैदेशिक रोजगारीमा जानेहरूमा भने समस्या नभएको उनले दावी गरे ।

मन्त्री भण्डारीले कन्सल्टेन्सीहरूले वैदेशिक रोजगारीमा पठाउने श्रमिकहरूको तथ्याङ्क सरकारसँग पनि नभएको बताए । उनले त्यस्ता संस्थाहरूको कुनै उत्तरदायित्व नहुने भएको भन्दै वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले श्रम स्वीकृत लिएर मात्रै जानुपर्ने व्यवस्था प्रतिकूल हुने गरी शैक्षिक परामर्श केन्द्रहरूले गर्ने यस्तो काम रोक्न सरकारले सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्ने तयारी रहेको बताए ।

मन्त्री भण्डारीले पछिल्लो समय भिजिट भिसामा जाने ९९ प्रतिशत महिला कामदारहरू समस्या रहेका बताए । घरेलु कामदारको विषयमा सरकारले रोके पनि जाने क्रम भने नरोकिएको उनले बताए । घरेलु कामदार रोक्नका लागि समितिको निर्देशन आवश्यक रहेको उनको भनाइ छ । सरकारले सम्बन्धित देशको अवस्था र सुरक्षाको मापदण्ड अपनाएर मात्रै घरेलु कामदार पठाउने निर्णय गरेको उनले बताए ।

मन्त्री भण्डारीले फ्रि भिसामा वार्षिक रूपमा १५ हजार मानिस वैदेशिक रोजगारीमा गएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार