काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठक सकिएको छ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा सानेपामा बसेको बैठकमा बैठकमा महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरु प्रस्तुत गरेका छन्।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा उपसभापति एवम् कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरुबारे जानकारी गराएका थिए।
उक्त बैठकमा खड्काले विभिन्न मागहरुसहित आन्दोलित शिक्षकहरुका माग पूरा गर्नुपर्ने बताएका थिए।
उनले कार्यवाहक प्रधानमन्त्रीका रुपमा शिक्षकहरुका भावना सम्बोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाए।
‘संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सीमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पूरा गर्न सरकार तयार छ’, उनले बैठकमा भने, ‘समस्त नेपाली शिक्षकको भावना सम्बोधन गर्न सरकार तयार रहेको कुरा यसै बैठकमा प्रतिबद्धता जनाउँदछु।’
उनले बैठकमा शिक्षकहरुले उठाएका ट्रेड युनियन अधिकार, निवृत्ति भरण र अवकाशको समयमा पाउने सुविधा आदि विषयमा छलफल भइरहेको बताए। देशलाई ठूलो आर्थिक भार पर्ने विषयमा सरकार छलफलका रहेको पनि उनले बताएका छन्।
बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर र प्रतिमा गौतमले बोलेका थिए।