काठमाडौँ- विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएको छ ।
सो बिद्येयकको विरोधमा आज देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएर आन्दोलनमा उत्रन लागेका हुन् ।
विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँमा सडक आन्दोलन गर्नका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायीलगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् ।
नेपाल शिक्षक महासङ्घको आह्वानमा आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गर्नेछन् ।
पटक पटक सरकारसँग सहमति र वार्तामा बसेको तर, विधेयक बनाउँदा शिक्षक कर्मचारीहरूलाई मर्का पार्ने गरी आएको महासंघको आरोप छ । महासंघले हालको विधेयकमा संशोधन गर्नुपर्ने विभिन्न १८ बुँदे माग अघि सारेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने लगायतका मागहरू रहेका छन् ।
महासंघलाई आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन सरकारले आह्वान गरेको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा वार्ता समिति गठन समेत गरेको छ । तर, महासंघले शिक्षामन्त्रीसँग वार्ता गर्न अस्वीकार गरेको छ ।