• शुक्रबार, साउन ८ २०८३

शिक्षा मन्त्रालयले बोलाएको वार्ता शिक्षक महासंघद्वारा अस्वीकार


मंगलबार, असोज २ २०८०
2K
Shares

काठमाडौँ । आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले वार्तामा बस्न अस्वीकार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज दिउँसो तीन बजेका लागि वार्तामा बोलाएको थियो । तर, शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नभएको महासंघले जनाएको छ ।

महासंघ सह–अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले प्रधानमन्त्री तथा व्यवस्थापिकाले बोलाएको वार्तामा मात्र जाने बताइन् ।

विधेयक संसद्मा दर्ता भइसकेकाले शिक्षा मन्त्रालयले बोलाएको वार्तामा जानु औचित्यहीन हुने उनले बताइन् ।

महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै भोलिदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । त्यसका लागि जिल्ला जिल्लाबाट शिक्षक कर्मचारीहरू काठमाडौँ आउने क्रम जारी रहेको महासंघले जनाएको छ ।

पटक पटक सरकारसँग सहमति र वार्तामा बसेको तर, विधेयक बनाउँदा शिक्षक कर्मचारीहरूलाई मर्का पार्ने गरी आएको महासंघको आरोप छ । महासंघले हालको विधेयकमा संशोधन गर्नुपर्ने विभिन्न १८ बुँदे माग अघि सारेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने लगायतका मागहरू रहेका छन् ।

महासंघलाई आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन सरकारले आह्वान गरेको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा वार्ता समिति गठन समेत गरेको छ । तर, महासंघले शिक्षामन्त्रीसँग वार्ता गर्न अस्वीकार गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार