• शनिबार, साउन ९ २०८३

दसैंतिहारका लागि ४२ जिल्लामा सहुलियत पसल सञ्चालन गरिने


मंगलबार, भाद्र २६ २०८०
2.9K
Shares

काठमाडौं। सरकारले यो वर्ष दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालन गर्न आवश्यक बजेट टुंगो लगाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसल सञ्चालनका लागि २ करोड ७२ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रालयका उपसचिव मुकुन्द शर्माले जानकारी दिए।

त्यसमध्ये २ करोड ३२ लाख २० हजार रुपैयाँ उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य बस्तु बिक्री गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई अनुदानका रुपमा दिइनेछ। कम्पनीले साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसँग मिलेर सहुलियत पसल सञ्चालन गर्नेछ।

सरकारले चाडपर्वका बेला व्यापारीलाई जथाभावीरुपमा दैनिक उपभोग्य वस्तुको भाउ बढाउनका लागि रोक्न र उपभोक्तालाई राहत दिन भन्दै सहुलियत पसल सञ्चालन गर्दै आएको छ।

मन्त्रालयले २ हजार ७०० मेट्रिक टन खाद्यान्न खरीद गरी बिक्री गर्नका लागि कम्पनीलाई रकम दिन लागेको हो। कम्पनीका बिक्री विभाग प्रमुख भीमबहादुर थापाले मन्त्रालयले बजेटको टुंगो लगाए पनि सहुलियत पसल सञ्चालनबारे निर्णय हुन बाँकी रहेको बताए। ’सहुलियत पसल कहिलेबाट सञ्चालन गर्ने भन्ने टुंगो असोज पहिलो साता लगाउनेछौँ,’ उनले भने।

यसपालि ४२ जिल्लाका ४४ ठाउँमा सहुलियत पसल सञ्चालनमा ल्याउने तयारी छ। ती पसलहरुबाट चामल, दाल, पिठो, चिउरा, नुन, तेल लगायत दैनिक उपभोग्य वस्तु उपभोक्ताले सुपथ मूल्यमा पाउनेछन्।

गत वर्ष पनि ४४ ठाउँमा नै सहुलियत पसल सञ्चालन गरिएको थियो। तर जिल्लाको संख्या ४१ थियो। यसपटक गुल्मीमा पनि सहुलियत पसल सञ्चालन गरिने भएको छ।

मन्त्रालयले ४० लाख रुपैयाँ भने सहकारीमार्फत सहुलियत मूल्यमा खाद्य वस्तु बिक्री वितरण गर्नका लागि विनियोजन गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार