• शनिबार, साउन ९ २०८३

‘ऐनापहरा’मा कुँदिएको आकृतिले पर्यटक आकर्षित


मंगलबार, भाद्र २६ २०८०
7.8K
Shares

तनहुँ । हरियाली जङ्गल, कलकल बगेको पानी । ठूलो खोँचबाट झरेको पानी । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा केही समय अगाडिसम्म व्यवस्थित थिएन । तर अहिले उक्त ठाउँको रुप फेरिँदैछ ।

स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने प्रयास गरेका छन् । गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको मनमोहक ऐनापहरा झरनालाई पर्यटकको विश्रामस्थल बनाउने उद्देश्य राखिएको छ ।

गाउँपालिकाको लगानीमा ऐनापहराका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति खोप्ने काम गरिएको छ । ढुङ्गामा आकृति देखिन थालेपछि यो ठाउँले सबैको ध्यान खिचेको छ ।

ढुङ्गामा आकृति देखिन थालेपछि अहिले यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पृथ्वी राजमार्गबाट नजिकै रहेको यहाँ मुग्लिनतर्फबाट पोखरा आउने पर्यटक सवारी साधन रोकेर पुग्ने गरेका छन् ।

सामाजिक सञ्जालबाट पनि यस ठाउँको प्रचारप्रसार हुन थालेपछि ऐनापहरा पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउँछन् । उनले भने, ‘गत माघदेखि यहाँका ढुङ्गामा आकृति बनाउने काम भइरहेको छ । आकृति लगभग अन्तिम चरणमा पुगेको छ । यसले आकर्षक देखिन थालेपछि आन्तरिक पर्यटकको चहलपहल पनि बढ्दै गएको छ ।

यत्तिकै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउने र पार्क निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ र सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ ।

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपिआरअनुसार रु दश करोड बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार