काठमाडौँ । विदेशमा रोजगारीको लागि जाने श्रमिकले भविष्यमा बैंकमार्फत ऋण लिन सकिने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसको व्यवस्थाका लागि गृहकार्य सुरु गरेको हो ।
वैदेशिक रोजगारी जाँदा लाग्ने खर्च बैंकबाट ऋणस्वरुप लिन सकिने र उक्त रकम सिधै मेनपावर व्यवसायीको खातामा जाने गरी व्यवस्था गर्न लागिएको बैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहालले बताए ।
रोजगारीमा विदेश जाँदा गाउँघरमै मिटर व्याजीबाट चर्को ब्याजमा ऋण लिने र विदेशमा कमाएको रकम त्यो ऋण तिर्दैमा ठिक्क हुने अवस्था अन्त्यका लागि बैंकबाट सिधै ऋण दिने व्यवस्था गर्न लागेको उनले बताए ।
श्रमिक विदेश गएपछि उसले ऋण लिएको बैंक मार्फत पैसा पठाउँने र अबैध हुन्डीमार्फत भित्रिँदै आएको रेमिटेन्स औपचारिक माध्यमबाट आउँने उनले बताए ।
ऋणका लागि बैंकहरूले धितोको रूपमा श्रमिकले गर्ने बीमा हुने र सरकार नै जमानीमा बस्ने हुँदा बैंकहरूलाई सहज हुने र त्यसका लागि ऐनमा नै संशोधन गर्नुपर्ने महानिर्देशक दहालले उल्लेख गरे ।
ऐन संसोधनका लागि मन्त्रालय सकारात्मक रहेको र सचिव तथा मन्त्रीसंग कुरा भैसकेको उनले बताए ।