• शुक्रबार, साउन ८ २०८३

राजनीतिक कार्यक्रममा सरिक नहुन शिक्षकलाई गाउँपालिकाको निर्देशन


मंगलबार, भाद्र १९ २०८०
3K
Shares

गोरखा । कुनै पनि राजनीतिक कार्यक्रममा सरिक नहुन गण्डकी गाउँपालिकाले शिक्षकहरुलाई आग्रह गरेको छ । पालिकाभित्रका शिक्षकहरु राजनीतिक कार्यक्रमहरुमा संलग्न भएको सूचना तस्वीरसहित सामाजिक सन्जालमा सार्वजनिक भएकाले गाउँपालिकाले सोमबार विज्ञप्ती जारी गर्दै त्यस प्रकारका क्रियाकलापमा सहभागी नहुन आग्रह गरेको हो ।

‘विभिन्न राजनीतिक दलका कार्यक्रमहरुमा गण्डकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुको संलग्नता एवं सहभागिता एवं राजनीतिक क्रियाकलाप केन्द्रीत कार्यक्रममा विद्यालय भवनको प्रयोग सम्बन्धी सूचनाहरु तथा फोटोहरु सामाजिक सञ्जालहरुमा तथा कार्यालयलाई समेत प्राप्त भएकोमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘शिक्षा नियमावली २०५९ तथा शिक्षक आचारसंहिताले शिक्षकहरु तथा निजामति सेवा नियमावली २०५० ले निजामती कर्मचारीहरु कुनै पनि प्रकारको राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने तथा सो गरेको पाईएमा विभागीय सजायको समेत व्यवस्था गरेको व्यहोरा सम्पूर्णलाई अवगत नै छ ।’

विद्यालयलाई आयोजना स्थल बनाई राजनीतिक कार्यक्रमहरु आयोजना गर्न पनि नपाईने कानुनी व्यवस्था रहेको समेत सूचनामा उल्लेख गरिएको छ । यसले विद्यालय तथा विद्यार्थीहरुलाई राजनीतिक कार्यक्रमबाट शैक्षिक गुणस्तरमा पर्न सक्ने प्रभावको बारेमा संवेदनशील भईदिनुहुन राजनीतिक दलहरुलाई अनुरोध गरेको छ । साथै गाउँपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षकहरुलाई कुनै पनि राजनीतिक कार्यक्रमहरुमा सहभागी नहुन निर्देशन दिएको छ ।

यदि राजनीतिक क्रियाकलापमा संलग्नता भएको प्रमाण गाउँपालिकाका कार्यालयमा प्राप्त भएमा प्रचलित कानुन बमोजिम कारबाहीको भागिदार हुनु पर्ने समेत गाउँपालिकाले सचेत गराएको छ ।

गाउँपालिका भित्रका कुनै पनि विद्यालय राजनीतिक कार्यक्रमहरुमा प्रयोग हुन नदिन तथा सो गरेको पाइएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जिम्मेवार हुने गरी आवश्यक प्रक्रिया अघि बढाइने समेत सूचनामा भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार