गोरखा । मनसुनजन्य विपद्का घटनाबाट क्षति भएका २६ घरले अनुदान पाउने भएका छन् ।
जिल्लाका विभिन्न स्थानमा विपद्जन्य घटना बाढी/ पहिरोबाट क्षति पुगेका उक्त २६ घरपरिवारले निजी आवास निर्माण गर्न चार लाख अनुदान प्रदान गर्न लागिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
मनसुनजन्य विपद् प्रभावित निजी आवास पुननिर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि २०७७ अनुसार ३ किस्तामा अनुदान दिइएको सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले जानकारी दिए । जसमा पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता २ लाख र तेस्रो किस्ता १ लाख ५० हजार पाउने छन् ।
जिल्लामा १० जनाले पहिलो किस्ता र १६ जनाले दोस्रो किस्ता पाइसकेको उनले बताए । अधिकाशंले तेश्रो किस्ता भने पाउन बाँकी रहेको देखिन्छ । विपद्बाट क्षति पुगेका गोरखा नगरपालिकाको ३ घरपरिवारले पहिलो किस्ता प्राप्त गरेका छन् । पालुङटार नगरपालिकाका ५ घरधुरीले पहिलो किस्ता र ६ परिवारले दोस्रो किस्ताको अनुदान प्राप्त गरेका छन् ।
त्यस्तै गण्डकी गाउँपालिकाका ३ घरधुरीले दोस्रो किस्ता, भीमसेन थापा गाउँपालिकाको २ परिवारले पहिलो किस्ता र ७ घरपरिवारले दोस्रो किस्ता अनुदान पाएको उनले बताए । विपद व्यवस्थापनमा विभिन्न किसिमका चुनौती र समस्याहरु झेल्नु परेको प्रशासनले जनाएको छ ।
विपद् जोखिमको नक्शांकन नहुनु, विपद जोखिम न्युनिकरण र विकास निर्माण विच तालमेल नहुनु, पुर्वतयारीमा कमजोर बुझाई, अध्ययन अनुसन्धानमा लगानी नहुनु परेको छ । त्यस्तै विपद उद्धारमा संलग्नसंग स्रोत नहुनु, स्थानिय तहमा भएको श्रोतको सही परिचालन हुन नसक्नु, अस्पष्टता जस्ता समस्या र चुनौति आएको प्रशासनले जनाएको छ ।
विपदबाट प्रभावित भइ बसाइँ सर्नुपर्ने, घरबारविहीन हुने परिवारका लागि भूकम्प प्रभावित सरह दिइने चार लाख रुपियाँ अनुदानले ठुलो राहत पुगेको छ । यस वर्ष क्षति भएका घरको विवरण स्थानीय तहबाट आउन बाँकी छ । त्यसपछि यसको विवरण प्रकृया अघि बढ्ने देखिन्छ ।