• शुक्रबार, साउन ८ २०८३

गोरखामा हरेक दिन २ जनाबढीले गराउँछन् गर्भपतन


सोमबार, भाद्र १८ २०८०
1.6K
Shares

गोरखा । जिल्लामा दैनिक २ जनाबढीले गर्भपतन गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । एक वर्षको अवधिमा गोरखामा ७ सय ८५ जनाले गर्भपतन गराएका स्वास्थ्य कार्यालय गोरखाले जनाएको हाे ।

कार्यालयको तथ्याङ्क अनुसार ६ सय ९५ जनाले औषधीको प्रयोगबाट र ४२ जनाले अन्य प्रयोग (सर्जिकल)बाट गर्भपतन गराएका हुन् । जसमा २० वर्ष माथिका ७ सय ३७ र २० मुनिका ४८ युवतीले गर्भपतन गराएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी नवराज खड्काले जानकारी दिए ।

गोरखा नगरपालिकाका मात्रै २८० जनाले गर्भपतन गराएका छन् । जसमा २३८ जनाले औषधीको प्रयोग र ४२ जनाले अन्य प्रयोगबाट गर्भपतन गराएको उनले बताए । त्यस्तै पालुङटार नगरपालिकाका १०८, आरुघाट गाउँपालिकाका १४७ जना, चुमनुब्रीका १२, अजिरकोट गाउँपालिकाका १७, बारपाक सुलिकोट गाउँपालिकाका २४, धार्चेका १७ जनाले गर्भपतन गराएका छन् ।

भीमसेन थापा गाउँपालिकाका २५, सिरानचोक गाउँपालिकाका ३९, शहिद लखन गाउँपालिकाका १२ र गण्डकी गाउँपालिकाका ५६ जनाले गर्भपतन गराएको तथ्यांकमा उल्लेख छ । गर्भपतन गराएको मध्ये ३७ जनामा धेरै रगत जाने जस्ता समस्याहरु आउने गरेकोले पुन अस्पताल आउनु परेकाे उनले बताए । जसमध्ये ४ जनाको अवस्था भने गम्भीर भएकोले रिफर गरिएको थियो ।

जिल्लामा ३० स्वास्थ्य संस्थाबाट औषधीको प्रयोग मात्र र गोरखा अस्पताल र आँपपिपल अस्पताल बाट औषधी र सर्जिकल दुवैबाट गर्भपतन गराउन सकिने व्यवस्था रहेको स्वास्थ्य कार्यालयका पव्लिक हेल्थ नर्स सुकमेल बरालले जानकारी दिइन् । सुचिकृत स्वास्थ्य संस्था बाहिरबाट किनेर आफुखुसी खाने गरेर गर्भपतनमा समस्या आउने गरेको उनको भनाइ छ ।

‘सुचिकृत स्वास्थ्य संस्था बाट गर्भपतन गराएका पनि केही मात्रामा समस्या आएका होलन तर बढि मात्रामा बाहिरी औषधी पसलको औषधी प्रयोग गरेकोले समस्या आउने गरेको छ,’उनले भनिन्,‘सुचिकृत स्वास्थ्य संस्थाबाटमात्रै गर्भपतन गराउन पाउने कानुनी ऐनमा उल्लेख तर बाहिरी संस्थाबाट गर्भपतन गराउदै आएका छन् ।’

गर्भपतन गराए पस्चात ७८५ मध्ये १२७ जनाले भने परिवार नियोजनको साधन अपनाएको तथ्यांकले देखाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार