काठमाडौं । त्रिभुवन विश्वविद्यालय र केहि विद्यार्थी संगठनहरुबीच भएकाे सहमतिको विरोधमा स्वभियु पदाधिकारी सहित विद्यार्थीले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका छन् ।
बुधबार त्रिवि पदाधिकारी र विद्यार्थी संगठनका केन्द्रीय नेताहरुले शुल्क वृद्धि फिर्ता गर्ने र विद्यार्थी प्रतिनिधिसहितको समिति बनाएर नयाँ शुल्क निर्धारण गर्ने सहमति गरेको बिरोधमा स्ववियु पदाधिकारी सहितका विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका हुन् ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु अध्यक्ष विराज अर्यालले वास्तविक विद्यार्थीको सहभागिता बिना बुधबार भएको सहमति खारेज गरी इन्जिनियरिङका विद्यार्थी तथा संस्थान पदाधिकारीहरुसँग बसेर अर्को सहमति गर्नुपर्ने भन्दै ताला लगाएको बताए ।
शुल्कवृद्धि फिर्ताको माग गर्दै नेपाल विद्यार्थी संघका सुलभ चापागाईं, अखिल क्रान्तिकारीका केशव रावल, समाजवादी विद्यार्थी युनियनकी रसना यादव, अखिल क्रान्तिकारीका प्रेम सिंह आमरण अनसन बसेका थिए ।
इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षाको स्नातक तहको शुल्क बढाएर ७ लाख ७५ हजार पुर्याएपछि विद्यार्थीहरुले आन्दोलन गरेका थिए ।
अनसनमा बसेकाहरुलाई निर्णयमा संलग्न नगराइएको भन्दै नेविसंघका सुलभ चापागाईंले नेविसंघ पुल्चोक इकाइ सभापतिबाट राजीनामा दिएका थिए ।
उक्त सहमतिमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि सहमति धोका हो भन्दै सहमति पत्र जलाएको छ ।