गोरखा । गोरखा नगरपालिकाले क्वारेन्टिनमा रहेकाहरु मध्ये थप १५ जनाको कोरोना परिक्षणका लागि स्वाव संकलन गरेको छ ।
भारत लगायत देशका बिभिन्न जिल्लाहरुबाट आएर क्वारेन्टिनमा बसेका ३० जना मध्ये शुक्रबार १५ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको हो । गोरखा नगरपालिका वडा नम्बर १० स्थित मनकामना बहिरा आवासिय विद्यालयको क्वारेन्टिनमा बसेका १५ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पोखरा पठाइएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
बिभिन्न स्थानबाट आई क्वारेन्टिनमा बसेको एक हप्ता कटेकालाई मात्रै शुक्रबार पिसिआर परिक्षण गरिएको नगरप्रमुख राजनराज पन्तले बताए । यसअघि २९ जनाको पिसिआर परिक्षण गराएको गोरखा नगरपालिकाले शुक्रबार ९ जना भारत र ६ जना देशका बिभिन्न जिल्लाबाट आएकाहरुको कोरोना परिक्षण गराएको बताएको छ ।
‘पहिला २९ जनाको कोरोना परिक्षण गरायौ, सबैको रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा पठाएका हौ’ नगरप्रमुख पन्तले भने ‘अहिले पनि क्वारेन्टिनमा बसेको एक हप्ता कटेकालाई मात्रै पिसिआर गराएका छौ, बाँकीको समय पुगेपछि फेरी गर्छौ ।’
पिसिआर परिक्षण गराएका मध्ये एक ३ बर्षिया बालिका सहित ४ महिला र ११ जना पुरुष रहेको बताइएको छ । उनिहरुको रिपोर्ट आएपछि नेगेटिभ आएका मध्येलाई १४ दिन क्वारेन्टिनको समयसिमा कटेपछि होम क्वारेन्टिनमा पठाउने नगरपालिकाको तयारी छ ।
हालसम्म गोरखा जिल्लाभर २ सय ८४ जनाको कोरोना परिक्षणका लागि पिसिआर परिक्षण भइसकेको छ । ति मध्ये २ सय २१ को नतिजा नेगेटिभ आएको र अन्यको भने रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
गोरखामा हालसम्म कोरोनाका संक्रमित देखिएका छैनन । तर गोरखाको आरुघाट गाउँपालिका मान्बु घर भई हाल जुम्लामा रहेका एक जनामा भने संक्रमण पुष्टि भइसकेको छ ।
हेर्नुस यसरी हुन्छ कोरोना परिक्षणका लागि स्वाव संकलन (भिडियाे माेहसिन अलि मियाँ)