काठमाडौं । अत्याधिक वायु प्रदुषण हुने सूचीमा नेपाल तेस्रो स्थानमा रहेको प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकाको युनिभर्सिटी अफ शिकागो अन्तर्गत इनर्जी पोलिसी इन्टिच्युटले यसै अगष्ट महिनाकाे अन्त्यमा सार्वजनिक गरेको प्रतिवेदनले नेपाल अत्याधिक वायु प्रदुषण हुने मुलुकको तेस्रो नम्बर रहेको देखाएको हाे ।
एयर क्वालिटी लाइफ इन्डेक्स २०२३ नाम दिइएको सो प्रतिवेदन भू–उपग्रहहरुबाट प्राप्त तथ्यांक विश्लेषणको आधारमा संसारका बिभिन्न देश र सहरहरूका औसत वार्षिक वायु प्रदुषणको मात्रा अनुमान गरिएको छ । जसमा नेपाल विश्व कै तेस्रो अत्याधिक वायु प्रदुषण भएको मुलुकमा परेकाे हाे ।
नेपालको औसत वार्षिक वायु प्रदुषण अथवा हावामा कणहरु (PM2.5) को मात्रा विश्व स्वास्थ संगठनको मापदण्ड भन्दा १० गुणा बढी छ जसले औसत नेपालीको आयु ४.६ वर्षले घटाएको छ। यदी नेपालकाे वायु गुणस्तर विश्व स्वास्थ संगठनको मापदण्ड अनुरुप हुँदो हो त हरेक नेपालीको औसत आयु मा ४.६ वर्षले बृद्धी हुने थियो।
प्रतिवेदनका अनुसार नेपालमा सबै भन्दा बढी मधेश प्रदेशको वायु प्रदुशित छ जहाँ प्रदुषण विश्व स्वास्थ संगठनको मापदण्ड भित्र पुर्याउन सके मानिसहरुको औसत आयु ७ वर्ष भन्दा बढीले बढ्ने थियो।
काठमाडौँको सन्दर्भमा वायु प्रदुषणको मात्रा विश्व स्वास्थ संगठनको मापदण्ड भन्दा ८ गुणा बढी छ र यसलाई विश्व स्वास्थ संगठनको मापदण्ड भित्र पुर्याउन सके हरेक काठमाडौँवासीको आयु औसत ३.५ वर्षले बढ्ने थियो। काठमाडौँको वायु प्रदुषण ३० प्रतिशतले मात्र घटाउन सके पनि हरेक काठमाडौँवासीको आयु औसत १.२ वर्षले बढ्ने थियो।
नेपाल अत्याधिक वायु प्रदुषणकाे तेस्राे नम्बरमा रहेकाे प्रतिवेदन सार्वननिक भएपछि नागरिक समाज संघसंस्थाले सरकारकाे ध्याकर्षण गराएका छन् । क्लिन एयर नेटवर्कले एक विज्ञप्ती जारी गर्दै वायु प्रदुषणका कारण पत्ता लगाई समाधानका लागि पहलकदमी लिन सरकारलाई आग्रह गरेकाे छ ।
‘नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको व्यवस्था गरेको छ तर वायु गुणस्तर (प्रदुषण) को कारण नेपालीहरुको स्वास्थमा परेको असर एकदमै चिन्ताजनक स्थितिमा पुगिसकेको सन्दर्भमा यसलाई नियन्त्रण गर्न सरकारले तत्काल तिब्र गतिमा काम अघि बढाइयाेस’ विज्ञप्तीमा भनिएकाे छ ।
त्यस्तै वायु प्रदुषण राेकथाम र स्वच्छ हावा प्रवर्द्धनका लागि बनेका नीति, कार्ययाेजनाहरुकाे प्रभावकारी कार्यान्वयनमा समेत सरकारले ध्यान दिनुपर्नेमा समेत नेट्वर्कले जाेड दिएकाे छ ।
विज्ञप्ती
