काठमाण्डौ । चितवनकाे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण साधारण शय्या (जनरल बेड) निःशुल्क गरिएका छन् ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलको नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी असोज १ गतेदेखि लागू हुने गरी अस्पतालका सघन उपचार कक्ष (आइसीयू), पोष्टअप र क्याबिनबाहेकका सम्पूर्ण जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिए ।
अस्पतालमा कुल चार सय ५० शय्या रहेका छन् । जसमा तीन सय ५० हाराहारी जनरल शय्या छन् । अस्पतालले भर्ना भएका बिरामीलाई खाना पनि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
बैठकले अस्पतालको उपनिर्देशनमा डा उमेश नेपाललाई नियुक्त गरेको छ । यसैगरी सञ्चालक सदस्यमा डा कृष्णसागर शर्मा र डा भावना वाग्लेलाई नियुक्त गरेको छ ।