गोरखा । विजुली झ्याप्प झ्याप्प आउने जाने समस्याबाट आजित भएका गाेरखाका सेवाग्राहीले बिरोध जनाएका छन् । सामाजिक सञ्जालमा निरन्तर खबरदारी गर्दै आएका सेवाग्राहीहरुले सोमबार विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रको ध्यानाकर्षण समेत गराएका छन् ।
‘गोरखामा के कारणले बिद्युत सेवा अनियमित भएको हो रु यसको समाधान किन हुन नसकेको हो रु हामी जवाफ खोज्न आएका हौं,’ उपभोक्ता हकहित संरक्षण मञ्जका जिल्ला अध्यक्ष किशोरजंग थापाले भने,‘बरु नागरिकको स्तरबाट केही सहयोग चाहिन्छ भने हामी सहयोग गर्न तयार छौं ।’
उनले दिनमा सयौं पटक लाइन आउने जाने गरेको, जसले गर्दा व्यक्तिका विभिन्न विद्युतिय सामाग्रीमा क्षति पुगेको, व्यक्तिगत तथा व्यवसायीक काम प्रभावित भएको, नागरिकले नियमित रुपमा महशुल तिरेको तर सेवा भने नपाएको लगायतका समस्या बारे ध्यानाकर्षण गराएका थिए ।
यसैगरी नागरिक अधिकारकर्मी पवनरमण खनालले विद्युत वितरणमा समेत विभेद भएको गुनासो गरे । ‘हुन त जिल्लाकै विद्युतमा समस्या देखिन्छ । त्यसमा पनि सदरमुकाममै कतै विजुली आइरहेको हुन्छ । कतै अन्धकार हुन्छ,’ उनले भने,‘प्राधिकरणले उपभोक्तालाई यसरी विभेद गर्न मिल्दैन ।’
सदरमुकाम र आसपासमा रहेको महेन्द्रज्योति फिडर र नयाँ बजार फिडरमा लाइन आइरहँदा खोप्लाङ फिडरमा भने विद्युत नआउने गरेको उनले बताए । प्राधिकरणले जनता माथि गम्भीर खेलबाड गरेको अर्का सामाजिक एवं राजनीतिककर्मी विपिनचन्द्र ढकालको आरोप छ ।
‘जनताले पैसा तिरेपछि सहज रुपले विद्युत बाल्न पाउनु पर्छ,’ उनले भने,‘हैन भने गोरर्खाली जनता अब चुप लागएर बस्न सक्दैन्, आएर ताला लगाउन पनि तयार छन् ।’ प्राधिकरणले बारम्बार प्राविधिक कारण देखाएर उम्किन नमिल्ने उनको भनाई छ ।
विद्युत सेवा अनियमित भएपछि कार्यालय कर्मचारीले बारम्बार माथिबाट नआएको भनि पन्छिन खोज्ने, मर्मतका लागि बोलाउँदा पनि नजाने, मिटर रिडिङ समयमा नहुँदा समस्या भएको, अतिरिक्त शुल्क लिइएको, विद्युत सेवा पहिलेको भन्दा बढि अस्तव्यस्त भएको, समस्या बारे जानकारी दिदा पनि कार्यालयले गम्भीर रुपमा समाधानका लागि नलागेको लगायतका विभिन्न आरोप सेवाग्राहीहरुले लगाएका छन् ।
उनीहरुले तत्काल समस्याको समाधान गरी सेवा प्रभावकारी नबनाए आन्दोलन गर्ने चेतावनी दिएका छन् । विद्युत आउने जाने समस्याका कारण विद्युतिय सामाग्रीमा क्षति पुगेको भन्दै क्षतिपूर्ती समेत माग गरेका छन् । सेवाग्राहीको समस्या सुनिसके पछि नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख चिज गुरुङले जिल्लाको विद्युत सेवामा समस्या देखिएको स्वीकार गर्दै समाधानका लागि प्रयास भइरहेको दाबी गरे ।
‘अहिले गोरखा सहित धेरै जिल्लामा समस्या छ । बत्ति आउने जाने समस्या प्रशारण लाइनका कारणले गर्दा भएको हो,’ उनले भने,‘जिल्लामा फिडर थोरै र प्रशारण लाइन लामो हुँदा आन्तरिक समस्या पनि छ । हामी सेवा नियमित र प्रभावकारी बनाउन निरन्तर लागि रहेका छौं ।’
प्रशारण लाइनको क्षमता भन्दा बढि विद्युत उत्पादन भएकाले अहिले ओभरलोडका कारण बत्ति आउने जाने समस्या भएको उनको दाबी छ । जिल्लामा विद्युत आउने पोइन्ट एउटा मात्र हुँदा पनि समस्या भएको उनको भनाई छ ।
जिल्लाका विभिन्न ठाउँमा निर्माणाधिन सवस्टेशनहरु समयमा निर्माण सम्पन्न नहुँदा पनि विद्युत सेवा नियमित गराउन नसकिएको उनले बताए । सदरमुकामबाट बाहिर गएको वितरण लाइनलाई छुट्टै फिडर दिएर यहाँको समस्या हल गर्ने प्रयास भइरहेको उनले बताए ।
‘मेरो स्तर र क्षमताले हुनेसम्म म लागिरहेको छु । निरन्तर लागिरहनेछु,’ उनले भने, ‘यहाँबाट नहुने कुरालाई पनि माथिल्लो निकायमा यहाँको समस्या जानकारी गराउनेछु ।’
जिल्लामा विद्युत सेवा अनियमित भएपछि निरन्तर सामाजिक सञ्जाल मार्फत खबरदारी गरिरहेकाहरु सोमबार स्वतःस्फूर्त रुपमा विद्युत प्राधिकरणको गोरखा वितरण केन्द्र पुगेका थिए ।