गोरखा । लगातारको अविरल वर्षापछि आएको बाढी र पहिरोले गोरखामा एक घर बगाएको छ भने ६ घरमा आंसिक क्षति गरेको छ । आइतवार बेलुकी घार्चे गाउँपालिका ६ यार्सामा बाढी र पहिरोले ७ घरमा क्षति गरेको वडाध्यक्ष धन कुमार घलेले जानकारी दिए ।
लगातार परेको मुसलधारे वर्षापछि आएको बाढीले यार्साको भिमबहादुर घलेको घर बगाएको हो । वर्षापछि यार्साखोलामा आएको बाढीका कारण जयबहादुर गुरुङ, च्याबर घले, आइतीमाया घले, धामी घले, टेकबहादुर घले र सुनबहादुर गुरुङको घरमा सामान्य क्षति पुगेको उनले बताए ।
‘सानो पानी आइरहेन उक्त खोलामा एक्कासी ठुलो पानी आयो, अनि एउटा घर नै बगाएर लग्यो,’ वडाध्यक्ष घलेले भने, ‘पहिरोले भएको अन्न पात भाडा कुडा सवै वगाएर लग्यो, केही सामान भिक्नै पाइएन्। पहिरोबाट पिडितबनेकाहरु बस्ने ठाँउ नभएकोले आफन्तकाे घरमा शरण लिएर बसेका छन् ।’
घरमा आसिंक क्षति पुगेपनि जोखिम कारण बस्न नसकेपछि अन्य घर परिवार पनि आफन्तको घरमा गई बसेको उनको भनाइ छ । पहिरोमा परेकोलाई पालिका र रेडक्रस मिलेर त्रिपाल र केही सामानहरुकाे ब्यवस्था गरिदिएका छन् ।’
बाढीले उक्त खोलामा रहेको तीन वटा पुल समेत बगाएको छ ।